काठमाडौँ, १७ मङ्सिर (रासस)
नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढ·ले विषयवस्तु उठेको छ ।
तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ । उहाँले भन्नुभयो, नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ । तर उहाँले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताउनुभयो ।
माओवादीका अर्का नेता मातृकाप्रसाद यादवले भने प्रारम्भिकरूपमा छलफल सुरु भएको र नेताहरूले आ–आफ्नो धारणा राख्ने काम भएको जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको भन्नेमा भने सबैको एकमत रहेको बताउनुभयो ।
समग्र निर्वाचनको अवस्थाका बारेमा छलफल भएको उल्लेख गर्दै उहाँले गठबन्धन कायमै रहेको र त्यसमा हाल कुनै थप निर्णय नभएको बताउनुभयो ।
यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ । दोलखामा भने मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार ग·ा कार्की अग्रस्थानमा हुनुहुन्छ । बैठक आइतबार पुनः २ बजे बस्नेछ ।
नेकपा (माओवादी केन्द्र) बैठकको निर्णयः सरकार गठनमा गठबन्धन र अन्य सबै विकल्प खुला
Facebook Comments Box