वीरगंज, ८ असोज । वीरगंजमा मेला शुरु भएपछि घण्टाघरदेखि महावीरस्थानका सडक पेटीमा थापिएका जेरीका पसलहरुमा जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरूको टोलीले बुधवार अनुगमन गरेको छ । खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतले २२ वटा मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सातवटा पसलमा प्रयोग गरिएको तेल गुणस्तरहीन पाइएको छ भने ५ वटा पसलमा प्रयोग भएको फुड कलर मापदण्ड अनुसार नभएको उपाध्यक्ष भुजेलले बताए । गुणस्तरहीन तेल र फुड कलर प्रयोग गरेका पसलका सामग्री तत्काल नष्ट गराइ पसल सञ्चालकलाई चेतावनी दिइएको खाद्य निरीक्षण अधिकारी सोनु साहले बताए । मेलामा बिक्री भईरहेका खाद्य पदार्थहरू खान योग्य छन् कि छैनन् भनेर जाँच गरिएको र दशैंलाई लक्षित गरी गरिएको यो विशेष अनुगमन दशैंभर जारी रहने साहले बताए ।
Facebook Comments Box