सहारा संवाददाता———-
सर्लाही, १८ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेका सार्वजनिक जग्गा तथा कुलो माथि बक्रदृष्टि राखेर कब्जा गरेर व्यवसाय संचालन गर्दै आएका खुलासा भएको छ । चन्द्रनगर गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष पदको प्रत्यासी तथा नेकपा माओवादीको गाउँपालिका ईन्चाज लखिन्द्र मुखियाले सार्वजनिक जग्गा तथा कुलो अतिक्रमण गरेर पोखरी खनेर व्यवसाय संचालन गर्दै आएको खुलासा भएको हो । सर्वहाराका नेता कहलाउने मुखियाले गाउँपालिकाको विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गा तथा कुलो अतिक्रमण एवं कब्जा गरेर पोखरी खनेर माछा व्यवसाय वर्षौ देखि सञ्चालन गर्दै आएको गम्भीर आरोप लागेको छ ।
चन्द्रनगर गापा–४, ६ र ७ को ५२ जना स्थानियले नेकपा माओवादीका गाउँपालिका ईन्चार्ज मुखियालाई कारवाही गर्न पालिकामा निवेदन दिएपछि जग्गा अतिक्रमण वा कब्जा भएको रहस्य खुलेको बताइएको छ । वडा नं. ६ का स्थायी निवासी मुखियाले आफ्नो नीजि स्वार्थको लागि हक भोग तथा नम्बरी जग्गा भन्दा बढी ऐलानी, पर्ति, सरकारी जग्गा तथा कुलो भएको जग्गामा पोखरी खनेर जग्गा कब्जा गरेको गाउँपालिकामा पेश गरिएको निवेदनमा उल्लेख छ । जग्गा कब्जा गरेकोले स्थानियलाई आवत जावत, गाई भैसी, बाख्रा चरन र कुनै पनि प्रकारको मेला उत्सव, धार्मिक, अनुष्ठान लगाउन तथा अन्य कार्य गर्न कठिनाई भइरहेको हुदा ऐलानी, पर्ति, सरकारी जग्गा छुटयाई जोत भोग गरे बापत लखिन्द्रलाई हदै सम्मको कारवाही गर्न स्थानियहरुले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो समक्ष निवेदन पेश गरिएको वडा नम्वर ४ का गौरी शंकर महतोले बताए ।
माओवादी पार्टीको बलमा लखिन्द्र मुखियाले तत्कालिन गाविस चन्द्रनगर वडा नं. ३ क, किता नं. ९२ क्षेत्रफल ०–२–१०, ९२ किताको चौहदी पुर्व किता नं. १४६, पश्चिम किता नं. २६३÷२६२ मा लोदवा जाने कुलो मिचेर पोखरी निर्माण गरेको हुदाँ हजारौ बिगहा खेतियोग्य जग्गामा सिंचाई गर्नबाट यहाँका किसानहरु बञ्चित भएको उनले आरोप लगाए । कुलो बाट गोसबरीया, कामद, लोदवा, तथा ब्रहमपुरी गाउँपालिकाका किसानहरु हजारौ बिगहा खेतीयोग्य जग्गामा सिचाई गर्ने गरेको थियो तर कुलो भएको स्थानलाई कब्जा गरेर पोखरीमा परिणत गरेपछि किसानहरु सिचाई गर्न नसकेको वडा नं. ७ का सुशिल कुमार सिंहले गुनासो गरे ।
त्यस्तै मुखियाले साविकको गाविस चन्द्रनगर वडा नं. ८ ख किता नं. १४० को क्षेत्रफल ०–७–१० पानी खाल्टो, किता नं. १८ को क्षेत्रफल ०–१०–१७ पर्ति, किता नं. ९९९९९७ को ७ विगहा सार्वजनिक दहको क्षेत्रफल मध्ये क्षेत्रफल १–१–५ पकडवा दह जग्गा अतिक्रमण गरी पोखरी खनेको स्थानीयहरुले पालिकामा दिएको निवेदनमा उल्लेख गरएको छ । यस्तै साविकको गाविस बबरगंज वडा नं. ४ ग किता नं. ४१ मा ०–४–१५–०, किता नं. ५१४६ पोखरीमा पनि लखिन्द्र मुखियाले खनजोत गरेको निवेदनमा उल्लेख छ । त्यस्तै गाविस चन्द्रनगर वडा नं. ८ ग किता नं. १४ को पश्चिम र दक्षिण मार्ग पोखरीमा गएको, केही फिट जग्गामा मुखियको पोखरी रहेको निवेदनमा उल्लेख छ ।
मुखिया चन्द्रनगर गाउँपालिका स्थानिय तहको निर्वाचनमा दुुई दुुई पटक गाउँपालिका अध्यक्षमा प्रतियासी उम्मेदवार भएको र नेकपा माओवादी चन्द्रनगरको ईन्चार्ज जस्तो जिम्मेवारीमा रहेर पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर आफ्नो व्यवसाय संचालन गर्नु दुखद भएको वडा नं. ६ निवासी स्थानिय अजय कुमार साहले बताए । यस्ता मानिसको कब्जाबाट अतिक्रमित जग्गा मुक्त गराएर कानुन बमोजिम कारवाही गर्न समेत गाउँपालिका संग उनले माग गरे ।
चन्द्रनगर गाउँपालिकामा माओवादीबाट अध्यक्ष पदका दुई पटक प्रत्यासी रहिसक्नु भएका लखिन्द्र मुखियाले मैले कुनैपनि जग्गा अतिक्रमण नगरेको दाबी गरे । यस पालिका भित्र थुप्रै जग्गाहरु एलानी पर्तीहरु रहेको छ, तिनीहरुलाई खाली गराउने अभियान संचालन गरोस आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कसैले आरोप लगाउदैमा आफू दोषि हुने कुरै आउदैनन् । अतिक्रमित जग्गा खाली गराउन आफू सहितका पार्टीले लाग्ने बताए ।पहिलाको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले पनि एलानी पर्ती जग्गा खाली गराउने निहुँमा छुट्याएको एक करोड भन्दा बढि रकम मासे तर अतिक्रमणको नाममा कुनै नाप नक्सा गरिएन । यदी पालिका प्रमुख अतिक्रमित जग्गा खाली गराउन इमान्दार छन् भने आफू सहित सिंगो पार्टी सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
स्थानियहरुले निवेदन दिएको आधारमा चन्द्रनगर गाउँपालिकाबाट बैशाख १५ गते अतिक्रमित जग्गा छानबिन तथा संरक्षण समिति गठन तथा कार्यान्वयन सम्बन्धमा एउटा विज्ञप्ति जारी भएको थियो । विज्ञप्तिमा स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद १३ को दफा ९७ वमोजिम गाउँपालिका क्षेत्रभित्रको सम्पतिको संरक्षण गर्ने अधिकारको व्यवस्था गरे बमोजिमका सम्पतिको संरक्षण गर्न र यस चन्द्रनगर गाउँपालिकामा रहेका व्यक्तिहरुले जग्गा हुदाहुदै गाउँपालिका भित्रका ऐलानी, पर्ती, कुलो, नदी, सडक सहित सार्वजनिक जग्गा अतिक्रमण गरी साविकको स्वरुप नै परिवर्तन गरी नीजि स्वार्थ पुरा गर्न उपभोग गरिरहेकोले उक्त जग्गाको छानविन गरी अतिक्रमण गरिएका जग्गाको नापजाचं गरी अतिकमित जग्गा फिर्ता ल्याई त्यसको संरक्षण र सार्वजनिक रुपले सदुपयोग गर्न चन्द्रनगर गाउँपालिकाले विभिन्न निर्णय गरेको थियो ।
नेपाल सरकार, गृह मन्त्रालयको मिती २०८० फागुन ९ गतेको विज्ञप्तीमा अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले लखिन्द्र मुखिया विरुद्धमा परेको उजुरी माथि अतिक्रमित जग्गाको छानविन तथा संरक्षण समितिबाट छानविनको लागि पठाउने र छानविन भएर आएपछि प्राप्त प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाउने बताए ।