सहारा संवाददाता––––––––––––––– वीरगंज, १७ असार । नयाँ लायन वर्ष २०२५–२६ को पहिलो दिन अर्थात १ जुलाई २०२५ को विशेष अवसरमा लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगंज विजयपथको संयुक्त आयोजनामा वीरगंज बहिरा विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजा खुवाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत ५० जना बहिरा विद्यार्थीहरूलाई स्वादिलो र पोषणयुक्त पौष्टिक खाजा वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम उप–डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले “लायन वर्षको पहिलो दिन सेवा कार्यबाट शुरूवात गर्दै समाजका विशेष बालबालिकाहरूसँग समय बिताउनु, उनीहरूको आवश्यकता बुझ्नु र सहयोग गर्नु आफैँमा एक प्रेरणादायी कार्य भएको बताउनु भयो । वहाँले दुबै क्लबलाई बधाई दिँदै यस्ता सकारात्मक कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष लायन पिया सिंहले “हामीले लायन वर्षको शुभारम्भ सेवा कार्यबाट गरेका छौं, र यो अभियान वर्षभरी जारी राख्ने बताएकी थिइन् । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आश्मा सिंह यादव, एरिया चिफ लायन रामेश्वर गुप्ता, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, विद्यालय व्यवस्थापन समितिकी पुर्व अध्यक्ष रिता क्षेत्री, प्रधानाध्यापक सगुन श्रेष्ठ, दुबै क्लबका पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षकहरू तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । लायन्स क्लबहरू सधैं समाजका विविध क्षेत्रहरूमा सेवा प्रदान गर्दै आएका छन्, र यस्ता कार्यक्रमहरूले समुदायमा सहानुभूति, सद्भाव र सेवाको संस्कार विस्तार गर्ने विश्वास गरिन्छ ।
Facebook Comments Box