सहारा संवाददाता–––––––––––––
वीरगंज, २७ चैत ।
नेपाल–भारत हिन्दू मैत्री समाजका अध्यक्ष डा. राजीव झाले मधेसी जनताले धर्म निरपेक्षताको अन्त्येष्टि गरिसकेको बताएका छन् ।
अध्यक्ष डा. झाले हालै मधेसवादी दलहरुले घोषणा गरेको मोर्चाप्रति लक्षित गर्दै मधेसी जनताले गणतन्त्र र धर्म निरपेक्षताको अन्त्येष्टि गरेको पछिल्लो जन प्रदर्शनले पुष्टि गरिसकेको दावी गरेका हुन् ।
मधेसी मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताप्रति प्रतिबद्धता जाहेर गरेको तर्फ इंगित गर्दै डा. झाले सत्ता स्वार्थका लागि टुट्ने–फुट्ने र अस्तित्वमा संकट आएपछि मधेसी जनताको दुहाइ दिएर मोर्चा बनाउने मधेसवादी दलहरु फेरि जनतालाई मूर्ख बनाउन अग्रसर भएको आरोप समेत लगाए ।
उनले गणतान्त्रिक सरकारले विगत १७–१८ वर्षदेखि आन्दोलनरत मधेसवादी दलहरुको माग सम्बोधन गरेका छैनन् भने मधेसवादी दलद्वारा आव्हान भएको आन्दोलनमा एक सयभन्दा बढी मधेसी जनताले ज्यानको आहुति दिएका छन् भने हजारौं मधेसी जनता अंगभंग भएका छन् । तर पनि आम जनताको अवस्थामा कुनै किसिमको परिवर्तन ल्याउन नसकेका मधेसवादी दलहरुले डुब्न लागेको आफ्ना साखः जोगाउन पुनः संगठित भएर आन्दोलनको नाममा मधेसी जनताको आहुति दिने वातावरणमा जुटेका छन् । जुन सफल नहुने भन्दै डा. झाले अब यी मधेस बेचुवा नेताहरुको पछाडि मधेसी जनता नजाने समेत दावी गरेका छन् ।
संविधान २०७२ को खारेजी र संविधान २०४७ को पुनः स्थापनाको लागि अभियानमा रहेका डा. झाले राष्ट्रिय सहारा दैनिकसँगको कुराकानीमा मधेसी जनताले गणतन्त्र र धर्म निरपेक्षतालाई अन्त्येष्टि गरिसकेको दावी गरेका हुन् । अब मधेसी जनता संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनः स्थापनाका लागि अग्रसर भएको पाइएको समेत उनले दावी गरेका छन् ।
Facebook Comments Box