सहारा दैनिक

spot_img
Homeसमाचार‘मुलुकको आवश्यकता पूरा गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्छ’

‘मुलुकको आवश्यकता पूरा गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्छ’

दाङ, ९ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको आवश्यकता पूरा गर्न, विद्यमान समस्या समाधान गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्ने बताउनुभएको छ । आज दाङको शान्तिनगरमा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय कांग्रेस कार्यसमितिद्वारा आयोजित कार्यक्रममा उहाँले गुटका आधारमा भन्दा विचारका आधारमा नेतृत्व उदाउनुपर्ने बताउनुभयो ।
“नेपालको आवश्यकता, समस्या समाधानका उपाय दिएर कार्यान्वयन गर्नसक्ने र विचार प्रस्तुत गर्नसक्ने नेतृत्व आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “गुटका आधारमा नेतृत्व उदाउँदा त्यसले जनता केन्द्रित नतिजा नदिन सक्छ ।” उहाँले बिपी कोइरालाको समयको जस्तै नेता, कार्यकर्ता पार्टीमा सशक्त ढङ्गबाट आउनुपर्ने बताउनुभयो । विसं २०१५ मा बिपीले नेतृत्व गरेको कांग्रेसले ७४ सिट ल्याएर ठूलो पार्टी बनेको भन्दै त्यो साख वर्तमान नेतृत्वले पनि जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री पौडेलले पछिल्लो समय नसर्ने रोगसम्बन्धी बिरामी बढ्दै गइरहेकाले नागरिक स्वयम् पनि सचेत बन्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य निःशुल्क हुनुपर्ने भन्ने गरिए जुन क्रममा बिरामी बढिरहेका छन्, यो क्रम नरोकिए राज्यले आर्थिक भार थेग्न नसक्ने अवस्था आउन सक्ने भएको त्यस्तो अवस्था आउन नदिन नागरिक पनि सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले गाउँ, टोल र वडाहरूमा नागरिकलाई आफ्नो स्वास्थ्य स्वस्थ राख्न जनचेतना दिन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले आगामी दिनमा विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -