सहारा संवाददाता–––––––––––
वीरगंज, ४ फागुन ।
विवादित व्यवसायी शंकर मित्तल उपर अर्को मुद्दा परेको छ ।
स्वीट मार्ट फूड प्रालिका सञ्चालक रहेका मित्तल उपर विराटनगरका एक व्यवसायीले मुद्दा दिएको हो ।
नागरिकता मुद्दामा जिल्ला प्रशासन कार्यालय, बारा धाइरहेका मित्तल त्यसअघि सुजल फूडको ब्राण्ड चोरी गरेको आरोपमा उद्योग विभागमा पनि मुद्दा खेप्दै आएका छन् भने अहिले विराटनगरका ओम श्री इन्टरप्राइजेजले धरौती वापत दिएको चेक बाउन्स गराएर अनाधिकृत रुपले रकम असूली गर्न खोजेको समाचार बुझिन आएको छ ।
मित्तलले ओम श्री इन्टरप्राइजेज विराटनगरलाई आफ्नो उद्योगको चकलेट लगायतका उत्पादित वस्तुहरु बिक्री वितरण गर्न सम्झौता अनुरुप रु. १० लाखको मिति उल्लेख नभएको चेक धरौती वापत लिएर कारोबार गर्दैआएका थिए । कारोबारकै क्रममा मित्तलले ओम श्री इन्टरप्राइजेजबाट रु. ७१ हजार चानचुन मात्र लिनुपर्ने दायित्व रहे पनि मित्तलले धरौटी वापत लिइएको मिति उल्लेख नभएको चेकमा मिति उल्लेख गरी ओम श्री इन्टरप्राइजेजबाट अनाधिकृत रुपले रकम असूली गर्न बैंकबाट बाउन्स गराएर कालोसूचीमा लैजाने प्रक्रियामा गएपछि उनीविरुद्ध जिल्ला अदालत मोरङमा र उच्च अदालत विराटनगरमा मुद्दा परेको बताइएको छ ।
ओम श्री इन्टरप्राइजेजले विभिन्न प्रमाणको आधारमा स्वीट मार्ट फूड प्रालिसँग हरहिसाबका निम्ति जिल्ला अदालत मोरङमा मुद्दा दिएका छन् ।
जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मित्तलले झूटा भुक्तानी देखाएर पटक–पटक चेक अनादर गराई बढी रकम लिने गलत उद्देश्यले कार्य गरिरहेकोले चेक फिर्ता पाउन स्वीट मार्ट फूड प्रालि र सञ्चालक मित्तल उपर जिल्ला अदालत मोरङमा एउटा मुद्दा छ भने उच्च अदालत विराटनगरमा मित्तलले चालेको कदम रोक्न तत्काल आन्तरिम आदेशको माग गर्दै ओम श्री इन्टरप्राइजेजले निवेदन दिएको छ ।
Facebook Comments Box