राधेश्याम साह
गौर, १९ माघ ।
मिडिया फर बोर्डर हार्माेनी रौतहट शाखाद्वारा आयोजित नेपाल–भारत मैत्री संवाद कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा दुवै राष्ट्रबीचको आपसी सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल–भारतको जनप्रतिनिधिहरूको उपस्थिति थियो । वर्तमान अवस्थामा दुबै राष्ट्रबीच समस्या एवं सामाधानका लागि आआफ्नो स्तरबाट सकेसम्मको प्रयास गर्ने जनप्रतिनिधिहरुले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतको सम्बन्ध धार्मिक, ऐतिहासिक रहेको र थप मजबुत पार्न मैले आफ्नो प्रधानमन्त्रीकालमा पनि विशेष पहल गरेको बताउँदै दुवै राष्ट्रबीचको आपसी समझदारी थप प्रगाढ रहिरहने बताउनुभयो ।
कार्यक्रममा फरक प्रसंगमा अध्यक्ष नेपालले बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको बताउनुभयो ।
उहाँले निजगढ–काठमाडौं फास्ट ट्रयाकको निर्माणको साथसाथै निजगढ विमानस्थलको निर्माण अति आवश्यकता रहेको बताउनुभयो ।
मधेस प्रदेशका पूर्वकृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादवले नेपाल–भारतको सम्बन्ध धार्मिक, भौगोलिक, ऐतिहासिक रहेको बताउनुभयो ।
त्यस्तै भारत रिगाका विधायक मोतीलाल साहले भारत–नेपालको सम्बन्ध अटुट रहेको सम्बन्धलाई कसैले बिगार्न नसक्ने भन्नुभयो । सीमामा देखापरेको समस्यालाई समाधानका लागि पहल गरेका छौं र विस्तारै सहज हुने विश्वास दिलाउनुभयो ।
हार्माेनी रौतहटका अध्यक्ष किशोरी यादवको सभापतित्वमा आयोजित कार्यक्रममा मधेस प्रदेशसभा सदस्य नागेन्द्र साह, गौर नगरपालिकाका मेयर शम्भु साह, बौद्धिमाइ नगरपालिकाको मेयर प्रदीप यादव, पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा, शैलेन्द्र गुप्ता, रविन्द्र प्रसाद साह, मिडिया फर बोर्डर हार्माेनीको संस्थापक अध्यक्ष एवं दैनिक जागरण मुजफ्फरपुरका वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीलगायतको उपस्थिति थियो ।
नेपाल–भारतको सम्बन्ध धार्मिक एवं ऐतिहासिक हो– अध्यक्ष नेपाल
Facebook Comments Box