सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ कार्तिक ।
“जुन जोगी आए पनि, कानै चिरेको” भन्ने भनाइको चरितार्थ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले स्थापित गरेको छ ।
जिल्लाको ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारीका साथै सवारी चालक अनुमती पत्र (लाइसेन्स) परिक्षाको प्राविधिक पक्षको पनि मुख्य जिम्मेवारीमा रहेका ट्राफिक प्रहरी कार्यालय पर्साका पदाधिकारीहरुले पछिल्लो भ्रष्टाचारी परम्परालाई यथावत राखेका छन ।
ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त राखी सवारी दुर्घटना न्यूनिकरणमा तदारुकता देखाउनु पर्ने र सवारी दुर्घटनाको मुख्य प्रस्थान विन्दु सवारी चालकलाई मानिन्छ । त्यसकै अनुमतीमा पनि आर्थिक चलखेल गरी अयोग्यलाई चालक बनाउने पछिल्लो ट्राफिक प्रहरी प्रमुख र निजका मतियार रहेका ट्राफिक प्रहरीका बरिष्ट नायव निरिक्षक गुणनिधि खकुरेलले अहिले पनि जारी राखेको समाचार बाहिरिनुले “जुन जोगी आए पनि, कानै चिरेको” भन्ने भनाइको चरितार्थ स्थापित गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका निवर्तमान प्रमुख ट्रा.प्र.नि. भाष्कर खतिवडाको पालामा उनको मौन समर्थनमा ब.ना.नि. खकुरेलले यातायात कार्यालय पर्साको व्यवस्थापकीयमा हुने सवारी चालक अनुमती पत्रको लिखित र ट्रायल परिक्षामा प्राविधिकको मुख्य जिम्मेवारी लिएर आर्थिक चलखेलको आडमा अयोग्य (फेल भएका)लाई पास गराउने गरेका थिए ।
खकुरेलकै गतिविधिका कारण यातायात कार्यालय पर्सा अयोग्यलाई लाइसेन्स दिने कार्यालयको रुपमा बद्नाम हुंदा मन्त्रालयले केही दिन नयाँ लाइसेन्सका लागी परिक्षा नै स्थगित गरेको थियो । हुन त खकुरेलको लाइसेन्स वितरणमा आर्थिक चलखेलमा यातायातका कर्मचारीहरु चोखो रहेको भन्ने अवस्था पनि छैन ।
पछिल्लो परम्परालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रमुख भएर हालै आउनु भएका ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टको नेतृत्व रहे पनि खकुरेलले निरन्तरता दिएको समाचार श्रोतले जनाएको छ ।
सवारी दुर्घटना नियन्त्रणका निम्ती ट्राफिक व्यवस्थापन र सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरणको मामिलामा ट्राफिक प्रहरीको अहम भुमिका रहने भएको भए पनि पर्सा ट्राफिक प्रहरी व्यवसायिक जिम्मेवारी भन्दा अवैध असुली अभियानमा संलग्न भएपछि जिल्लामा सवारी दुर्घट्नामा वृद्धि हुनुको साथै सवारी चालकहरु आतंकित समेत बन्न पुगेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कार्य क्षेत्रमा पर्ने सदरमुकाम वीरगंज महानगरका मुख्य चोकहरुका साथै ड्राइपोर्ट, परवानीपुर, गण्डक, पावरहाउस, नयाँ बसपार्क र वीरगंज–रक्सौल विचको मुख्य नाकामा ट्राफिक प्रहरीका प्रमुखहरुको आर्थिक आतंकका कारण सवारी दुर्घटनामा वृद्धि हुनुको साथै भारतीय पर्यटक तथा चालकहरु आतंकित भएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तथ्यांक अनुसार दशैं अवधिमा मात्र (२०८१ असोज १७ गते घटस्थापना देखि कार्तिक १ गते पूर्णीमा सम्म) १५ दिनको अवधिमा मात्र पर्सामा ३१ सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन ।
त्यस्तै चालु आर्थिक वर्षको ३ महिना भित्र कमजोर ट्राफिक व्यवस्थापनकै कारण पर्सा जिल्लामा २५४ सवारी दुर्घटना भएका छन ।
जसमा परी ८ जना पुरुष, १ महिला र १ बालिका गरी १० जनाको मृत्यु भएको छ भने १६ जना गम्भिर घाइते भएका छन । त्यस्तै २८८ जना घाइते भएको ट्राफिक प्रहरीकै तथ्यांकले देखाउछ ।
यी अवस्था एक तिर छ भने सडकको क्षमता अनुसार नै भार लोड गरी सवारी साधन आवत जावत गर्नु पर्ने व्यवस्था अनुरुप त्यसको निगरानी ट्राफिक प्रहरीले नै गर्नु पर्ने हो ।
निगरानी गर्ने दायित्वको नाममा ठुला मालबाहक सवारी साधन गुड्ने मुख्य बाटो एवं चोकहरु ड्राइपोर्ट, परवानीपुर, गण्डक, बसपार्क र पावर हाउस चोकमा विगतकै परम्परालाई कायम राख्दै बरिष्ट प्रहरी नायव निरिक्षक खकुरेलले अघोषित टेण्डर जारी गरी ट्राफिक प्रहरी अधिकृत (इन्चार्ज)को नेतृत्वमा ट्राफिक कर्मचारी खटाउने गरेको ट्राफिक श्रोतबाटै बुझिन आएको छ ।
उक्त बाटो एवं चोकबाट अवागमन गर्ने ठुला मालबाहक सवारी साधनले के कती भार लोड गरेको हेर्नु भन्दा पनि विचौलियाहरु मार्फत के कती आर्थिक आय हुने हो त्यस तर्फ मात्र खटिएका इन्चार्ज सहित मातहतका ट्राफिक कर्मचारीहरुले हेर्ने गरेको बताइन्छ ।
ड्राइपोर्ट, परवानीपुर, गण्डक, बसपार्क र पावर हाउस चोकबाट दैनिक हजारौं ठूला सवारी साधन चल्ने गरेका छन । जसबाट प्रति सवारी साधन नेपाली र विदेसीको छुट्टै दर रेट कायम गरी अवैध असुली गर्ने गरेको चालकहरु बताउछन ।
सबभन्दा बढी मालबाहक १६ चक्के गाडी निस्किने ड्राइपोर्ट र एकीकृत जाँच चौकी (आइसिपि)बाट ओभरलोड गरेर भारतीय सवारीहरु विभिन्न उद्योग तर्फ लाग्छन् तिनीहरुसंग सो क्षेत्रमा रहेका ट्राफिक प्रहरीले स्वयं र बिचौलीयामार्फत अनावश्यक दुःख दिई अवैध रकम असुल्ने गरेको भारतीय सवारी चालकहरुको गुनासो प्राय रहने गरेको छ ।
त्यस्तै परवानीपुरस्थित ट्राफिक प्रहरीले विभिन्न उद्योगबाट निस्किने सवारी साधनबाट ओभरलोडको बहानामा अवैध असुली गर्ने गरेको बताइन्छ ।
अवैध असुली कै लागी खकुरेलको अघोषित टेण्डर अनुरुप तिरेर ड्राइपोर्टमा ट्राफिक प्रहरीका सहायक निरीक्षक राम सहाय यादव, परवानीपुरमा प्रहरी नायब निरीक्षक भीम बोहरा, गण्डकमा ट्राफिक प्रहरी सहायक निरीक्षक वीर बहादुर यादव, बसपार्कमा प्रसनि बलराम चौधरी नेतृत्वमा ट्राफिक प्रहरीका टोलीले कार्यरत छन् ।
एका तिर खकुरेलले आफ्ना ताण्डव कायम राखेका छन भने विगतमा व्यापक बदनाम भएका तथा लाइसेन्सको सेटिङ काण्डमा निलम्वित समेत भएर बल्ल मुद्दा खेपेर बाहाल भएका प्रहरी सहायक निरीक्षक लालबाबु सहनी पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा आएका छन ।
हाल उनी सवारी चालक अनुमति पत्र (लाइसेन्स) हेर्न यातायात कार्यालय नभए अन्य कमाउ चोकमा डिउटीका लागी कसरथमा लागेका छन ।
प्रमुख फेरिए पनि पर्सा ट्राफिक प्रहरीको पछिल्लो परम्परा यथावत
Facebook Comments Box