सहारा दैनिक

spot_img
Homeदेशविपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ–स्वास्थ्यमन्त्री पौडेल

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ–स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १९ असोज (रासस)
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिनुभएको थियो ।
त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्नुहुँदै उहाँले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गर्नुभयो । जवाफमा तामाङले भन्नुभयो, “उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।”
मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी उहाँले धुलिखेल अस्पताललाई उपचारमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिनुभयो । अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियोआग्रह गर्नुभयो । “हामीले एउटा सङ्कट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य सङ्कट आउन नदिन सजग बनौँ । सबै मिलेर सम्भावित सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ”, उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पुर्‍याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -