सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असोज ।
जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतले एक मधेश दुई प्रदेश कायम हुनु पर्ने माग गर्नु भएको छ ।
जनमत पार्टी पर्साले आयोजना गरेको शुभकामना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले एक मधेश दुई प्रदेश कायम हुने गरी संबिधान संशोधन हुनु पर्ने माग गर्नु भयो ।
उहाले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेकाले निर्वाचन क्षेत्र पनि जनसंख्याकै आधारमा गर्नु पर्नेमा जोड दिंदै देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताउनु भयो ।
अध्यक्ष राउतले सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाले गर्दा समस्या आउने गरेकाले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्नेमा जोड दिनु भयो ।
उहाले संबिधान संशोधन दुई दलीय सिण्डीगेट कायम गर्नका लागि केन्द्रीत हुने दावी गर्दै संविधान संशोधनमा हाम्रा मागहरु सम्बोधन गर्नका लागि होइन भन्दै बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा आफ्ना मुद्धाहरु सम्बोधन हुने कुरामा बिश्वास गर्ने आधार छैन भन्नु भयो ।
अध्यक्ष राउतले कांग्रेस र एमालेको मिलनले मुलुकमा बिषम परिस्थिति सृजना भएको बताउनु भयो ।
संसारमा प्रमुख दुई ठुला प्रतिस्पर्धी दल मिलेको इतिहास छैन तर यो देशमा के अवस्था आइलाग्यो की कांग्रेस कम्युनिष्ट मिलेका छन ? यो मिलन अस्वभाविक रहेको बताउनु भयो ।
उहाले यो सरकार हाम्रा माग पुरा गर्न होइन, मधेशी मुस्लिम आदिबासीको अधिकार दिनका लागि होइन दुई दलीय सिण्डीगेट निर्माणका लागि संबिधान संशोधन गर्ने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
उहाले यस्तो खाले संबिधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याउदै आफ्नो पार्टी नागरिकको अधिकार बिपरितको संशोधनको बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी पनि दिनु भयो ।
सो अवसरमा अध्यक्ष राउतले प्रान्तीय सरकारलाई अधिकार बिहिन बनाइएको बताउदै प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता दिनु पर्ने बताउनु भयो ।
जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिहको अध्यक्षतामा आयोजित कार्यक्रममा संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, राजनीति समिति सदस्य करिमा बेगम, पार्टीका नेताहरु मुकेश द्विवेदी, सीपु तिवारी, शशीकपुर मियाँ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।