सहारा संवाददाता–––––––––––––––
गौर, ०८ असोज ।
प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यार्थीहरुले देवाहीगोनाही नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शनमा उत्रेका छन ।
रौतहट जिल्ला देवाहीगोनाही नगरपालिका अन्तरगतका जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले देवाहीगोनाही नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शनमा उत्रेका हुन ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले आफ्नो मनोमानी ढंगले जय किसान माध्यमिक विद्यालय धरहरिको प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।
प्रधानाध्यापक गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गरेकाले सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले मंगलवार गोनाही स्थित देवाहीगोनाही नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै बिरोध प्रदर्शन गरिरहेका छन् ।
नगर प्रमुख साहले अनाधिकृत रूपमा आर्थिक चलखेल गरेर प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको आरोप लगाउदै आक्रोसित विद्यार्थीहरुले नगर प्रमुख साहका विरुद्ध पनि चर्को नाराबाजी गरेका छन ।
सानासाना स्कूले बालबालिकाहरुले प्रदर्शन गरिरहंदा अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अवस्थालाई साम्य बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रनाउ एलिजा गिरीले जानकारी दिइन् ।
प्रदर्शनको क्रममा ढुंगामुढाबाट एम्बुलेन्सको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेको पहिचान भईसकेको जानकारी दिदै प्रनाउ गिरीले उग्र विद्यार्थीहरुलाई निकै सम्झाउदा पनि ढुंगा फाल्ने कार्य जारी रहंदा तिन जना प्रहरी सामान्य रुपमा घाइते भएको बताइन ।
उनले अहिले अवस्था साम्य भईसकेको छ । कसको उसकाहटमा परेर विद्यार्थीहरु प्रदर्शनमा आएको सम्बन्धमा प्रहरीले आवश्यक छानविन सुरु गरेको बताएकी छिन ।
Facebook Comments Box