सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असोज ।
खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टीले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तासंग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल गर्दै जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो ।
मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ । हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ र मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको बताउनु भयो ।
जसपा नेपालसंग अल्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको बताउदै उहाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो ।
मन्त्री यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसंग पनि अन्तर्क्रिरया गर्नुभएको छ ।
उहाले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पर्सागढी नपा वडा नं. ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै पर्सागढी वडा नं. ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठनलाई बलियो बनाउन सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
पर्सामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय प्रतिबद्ध–मन्त्री यादव
Facebook Comments Box