सहारा संवाददाता–––––––––––––––
जनकपुरधाम, ०५ असोज ।
हरवाचरवा अगुवाका लागि नेतृत्व बिकास, आन्दोलन निर्माण तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिवसीय प्रशिक्षण शुरु भएको छ ।
“मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा हाम्रो सरोकार” भन्ने मुल नाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार देखि दुई दिवसीय प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षणमा नेपालको संबैधानिक र कानुनी प्रावधान अनुसार तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्रीहरू, साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारा देखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा गर्नु भएको जानकारी गराइएको छ ।
हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो ।
मुक्तिको घोषणा भएको २ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि बढाएको छैन ।
प्रशिक्षणमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्च केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले मुक्त घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु सम्बोधनको प्रारम्भ अहिलेसम्म हुन नसकको अवस्थालाई मध्य नजर गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका प्रतिनीधीहरुको नेतृत्व बिकास र जन वकालत सिप सम्बन्धी क्षमता अभिबृद्धी गरि मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापनाका लागि आन्दोलन निर्माण मार्फत स्थानीय, प्रदेश र संघीय सरकारलाई दवाव दिने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताउनु भयो ।
दुई दिन सम्म चल्ने प्रशिक्षणमा संगठन निर्माण र परिचालन, नेतृत्व बिकास, सवालमा आधारित नीतिगत जनवकालत, सरोकारवाला निकायसंग समन्वय, संबैधानिक र कानुनी प्रावधान, जलवायु परिवर्तन सम्बन्धी बिषयमा केन्द्रीत हुने आयोजकले जनाएको छ ।
प्रशिक्षणकै क्रममा ३ महिने जन वकालत योजना निर्माण मार्फत आगामी आन्दोलन सञ्चालन गरिने जनाइएको छ ।
राष्ट्रिय दलित नेटवर्क, नेपालद्वारा मुक्त हरवाचरवा अधिकार मञ्चसंगको समन्वयमा आयोजना गरिएको प्रशिक्षणको सहजीकरण राष्ट्रिय दलित नेटवर्क, नेपालका संरक्षक गणेश बिश्वकर्मा, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई र कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले गरिरहनु भएको छ । प्रशिक्षणमा मधेश प्रदेशका ८ वटै जिल्लाहरुबाट प्रतिनीधित्व हुने गरी हरवाचरवा अगुवाहरुको सहभागिता रहेको छ ।
Facebook Comments Box