सहारा दैनिक

spot_img
Homeदेशभावी प्रधान न्यायाधीशमा राउत सिफारिस

भावी प्रधान न्यायाधीशमा राउत सिफारिस

काठमाडौँ, ३१ भदौ (रासस)
संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिनुभयो । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ ।
न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो । आज सिफारिस भावी प्रधानन्यायाधीश राउतलाई संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -