सहारा दैनिक

spot_img
Homeदेशमन्त्री छनोटका लागि मापदण्ड बनाउने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

मन्त्री छनोटका लागि मापदण्ड बनाउने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ, २९ असार (रासस)
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उहाँले बताउनुभयो ।
कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ ।
बैठकले आगामी सरकारमा सहभागी हुने औपचारिक निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा महतले जानकारी दिनुभयो । यसैगरी शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा परी बेपत्ता भइरहेकाहरूको छिटो खोजी गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार बेलुकासम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आहृवान गर्नुभएको छ । सोहीअनुसार कांग्रेसको साथ लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेस गरिसक्नुभएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -