सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधार पर्यटक क्षेत्र रहेको बताउनु भएको छ ।
पर्यटन विकास कार्यालय वीरगंजद्वारा बुधवार वीरगंज स्थित क्लासिक ब्याक्वेटमा आयोजित सरोकारवालासँगको अन्तरकृया एवं संवाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुन्छ भन्दै मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो भन्नुभयो ।
उहाले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको बताउदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्नु पर्ने आवस्यकता औल्याउनु भयो ।
उहाले मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकीमूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको बताउदै धार्मिक पर्यटक पूजा गरेर सोही दिन फर्किहाल्ने जुन बाध्यात्मक स्थिति छ त्यसलाई लम्ब्याउन सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन नसकिएको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आहृवान गर्दै मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन । त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबैले हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
उहाले हाम्रा आवश्यकता र चाहना असिमित छन्, प्रदेशले मात्रै सबै खालको बजेट उपलब्ध गराउन नसक्ने भएकाले पनि सार्वजनिक निजी साझेदारी लगायतका मोडलमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री भट्टराईले २०८२ लाई मधेश भिजिट वर्षका रुपमा अघि सार्ने योजना अघि बढाइरहेको जानकारी दिनु भयो ।
उहाँले २०८२ लाई मधेश भिजिट वर्षका रुपमा अघि बढाउने गरी काम थालिएको जानकारी दिंदै प्रदेश सरकारले यो वर्ष “घुमौँ मधेश, बुझौँ मधेश”को नारालाई अघि सारेको बताउनु भयो ।
मन्त्री भट्टराईले मधेश प्रदेशका आठ जिल्लाका ऐतिहासिक तथा धार्मिकस्थललाई चार वटा सर्किटमा बाँडेर विकास गर्नेतर्फ अग्रसर भइरहेको बताउनु भयो ।
उहाँले एकै वर्षको बजेटमा चारवटै सर्किटको पर्यटन क्षेत्रको विकास गर्न सम्भव नहोला भनेर आगामी आवको बजेटमा जनकपुरसर्किटलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रले मधेश प्रदेशले धार्मिक पर्यटनलाई भन्दा पनि पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटापु वन्यजन्तु आरक्षणलाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले हामीले विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणमा जोड दिन आवश्यक भइसकेको बताउनु भयो ।
त्यसै गरी प्रदेश सभासदस्य श्याम पटेलले पर्सा जिल्लामा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना भए पनि पर्यटकको बसाइ लम्बाउन नसकिएको बताउनु भयो ।
कार्यक्रममा भारतका महावाणिज्यदूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच प्राचीनकालदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहेकाले पनि दुवै मुलुकमा पर्यटनको अथाह सम्भावना रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी पर्सा जिल्ला ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई पर्यटकीय गन्तव्य घोषणा गरेर पनि बजेट उपलब्ध नगराएको दुःखेसो व्यक्त गर्नु भयो । त्यस्तै बारा जिल्ला महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले पाँच–पाँच वर्षमा गढीमाई मन्दिरमा ठूलो मेला लाग्ने भए पनि संघीय सरकारले मन्दिर आसपासको पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाउनु भयो ।
मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले विदेशी पर्यटनलाई आकर्षित गराउनका लागी यातायातको सहज पहुँच, खाना बासको उचित व्यवस्थापन, सुरक्षा र रिक्रियसन र रिफ्रेस लगायतका पूर्वाधार आवश्यक रहेको बताउनु भयो । पर्यटन अभियन्ता एवं जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रले हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा लागूपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रहबर अन्सारी, रौतहट जिल्ला मौलापुर नगरपालिकाकी मेयर रिना साह लगायत पर्सा, बारा, रौतहटका स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, होटल व्यवसायी एवं पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबैले हातेमालो गर्नु पर्छ–मुख्यमन्त्री सिंह
Facebook Comments Box