सहारा दैनिक

spot_img
Homeदेशमधेशविवादका बीच जीतपुरसिमरा उपमहानगरले ल्यायो बजेट

विवादका बीच जीतपुरसिमरा उपमहानगरले ल्यायो बजेट

वीरगंज, १० असार (रासस)
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरसभामा विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ ।
आज भएको नगरसभाको १०औँ बैठकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएपछि कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले बजेट पेस गर्नुभएको हो । चालु आवको बजेटभन्दा रु ५७ करोड तीन लाख घटाएर बजेट ल्याइएको हो ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाबाट कानुनी फ्रक्रियाअनुसार नीति तथा कार्यत्रम र बजेट पारित नभएको दाबी गर्नुभयो । “कार्यपालिकाको बोर्ड बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने थियो । वडागत बजेटको सिलिङ पारित हुनुपर्ने, बजेटको आकार र प्रकारमा छलफल हुनुपर्ने थियो”, उहाँले भन्नुभयो ।
नगरप्रमुख राजन पौडलले भने नीति तथा कार्यक्रम र बजेट पास भइसकेको दाबी गर्नुभयो । “केही पनि विवाद भएको छैन । पहिलादेखि नै प्रक्रियामा थियो । उहाँहरु सहभागी भइरहनुभएको थिएन । आज नगरसभा सम्पन्न भएको छ । उहाँहरुले आज तोडफोड गर्नुभयो । नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पास भइसक्यो ।”
कार्यपालिका सदस्य तथा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछानेले आगामी आवको बजेटमा ससर्त अनुदान संघ र प्रदेश सरकारबाट रु ६३ करोड ४८ लाख आय हुने अनुमान गरिएको बताउनुभयो ।


त्यस्तै संघीय प्रदेश स्थानीय सरकारबाट प्राप्त अनुदानतर्फ रु एक अर्ब चार करोड आठ लाख चार हजार आय हुने अनुमान छ । मालपोत रजिष्टेशन, विज्ञापन कर, ढुंगा गिट्टी बालुवासहित राजस्व बाँडफाँट संघ र प्रदेशबाटसहित रु ३७ करोड ९३ लाख ३५ हजार आय अनुमान गरिएको छ भने आन्तरिक राजस्व बैंक मौज्दातसहित रु ६७ करोड ९८ लाख ५० हजार आय हुने बजेट वक्तयमा उल्लेख गरिएको छ ।
चालु आवमा रु दुई अर्ब ६७ करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । सोमध्ये चालुतर्फ रु एक अर्ब २४ करोड ५५ हजार को ६२ दशमलव ५३ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ रु एक अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन भएकोमा २७ दशमलव २२ प्रतिशत अर्थात रु ३९ करोड ६ लाख ७२ हजार खर्च बजेट वक्तब्यमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -