राधेश्याम साह–––––––––––––––
गौर, ०२ असार ।
रौतहट जिल्लाका छुट्टा–छुट्टै स्थानमा एकै दिन दुई युवकको शव फेला परेको छ ।
गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको केही घण्टा पश्चात नै गौर न.पा. वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा शनिवार फेला परेको हो ।
मृत फेला परेका युवकका परिवारजनले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन । प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने बताएको छ ।
गौर न.पा. वडा नं. ४ स्थित लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको हत्या भएको हुन सक्ने उनका दाजु संजय सहनीले आशंका व्यक्त गरेका छन ।
मृतक राहुलले लगाएको सर्ट उसको घांटी निर बेरिएको छ, अण्डकोष, नाक र आँखाबाट रगत बगेको अवस्था देखिएको संजय सहनीको भनाइ छ ।
उनले भने शव फेला परेको स्थान केराघारीमा घिसारिएका दागहरु पनि छन् । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने भन्दै उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताए ।
हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौं । दुवै युवकको शव परिक्षणका लागि काठमाडौं पठाउने प्रहरीले जनाएको छ ।
Facebook Comments Box