वीरगंज, १२ असोज । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेकोले पारिवारीक र सांस्कृतिक रूपमा मात्रै यो पर्व पर्व मनाउन बाध्य रहेको जनाउनुभएको छ ।
शुभकामना सन्देशमा उहाँले आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झै हामीबाट बृहत्तरूपमा टीका जमरा प्रदान नहुने जनाएका छन् ।
पूर्व राजा शाहले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ:
नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ । नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशै पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।
हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरूदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।
हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो। हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरूरी छ। विगतको केही समय यता देश र जनताको सर्वाेत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सड्लो दृष्टिकोण अघि सार्दै आएको थियौं। नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्ने पर्दछ। भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ । युग र र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ। यही समयको माग हो। हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।
सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ। जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।
यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारीक र सांस्कृतिक रूपमा मात्रै यो पर्व पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झै हामीबाट वृहत्तरूपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गा भवानीले हामीलाई दिव्यपथ तर्पm अग्रसर राखून् यही हाम्रो कामना । जय नेपाल!