सहारा दैनिक

spot_img
Homeदेशचौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन

चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छः लिङ्देन

झापा, १४ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उहाँले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताउनुभयो ।

अध्यक्ष लिङ्देनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर राप्रपाले कुनै सम्झौता नगर्ने धारणा राख्नुभयो । पार्टीभित्र अनुशासन नमान्ने र अवसर मात्र खोज्नेहरू अब सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

“राप्रपा एउटा पार्टी मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो । पार्टी बलियो भएमा मुलुक समृद्ध बन्छ । राप्रपा भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध सदैव उभिने छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नुपर्ने खाँचो औँल्याउनुभयो । “हाम्रा पुस्ताका लागि पनि मुलुकको अवस्था र व्यवस्था दुवै बदल्नुपर्ने जरुरी छ, यसका लागि पार्टीले सडक र सदनबाट अगुवाइ गर्नेछ ।”

पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।    रासस

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -