वीरगंज, २७ असार । पूर्व राजाका संवाद सचिव फणी राज पाठकलाई गिरफ्तार गरिएको भन्दै राष्ट्रिय बजरंग दलले आपत्ति जनाएको छ ।
राष्ट्रिय बजरंग दलले आज प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पाठकलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो । राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जायसवालले जारी गरेको विज्ञप्तिमा नेपालको सनातन हिन्दू जनताको आस्थाका केन्द्र, विश्व हिन्दू सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवका संवाद सचिव डा. फणी राज पाठकलाई ‘श्री ५’ को सम्मानजनक सम्बोधन प्रयोग गरेको भन्दै राज्यद्वारा प्रहरीमार्फत हिरासतमा लिइएको घटना अत्यन्तै निन्दनीय, अमर्यादित र मौलिक हकको खुला उल्लंघन रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– हजारौं वर्षदेखि सनातन परम्परा अनुसार राजा, गुरू र आमाबाबुलाई पूर्व भन्ने चलन छैन । नेपालमा राजसंस्था विराजमान रहे पनि वा संवैधानिक अवस्थामा रहे पनि जनताले आफ्नो श्रद्धा, विश्वास र परम्परा अनुसार सम्बोधन गर्ने अधिकार राख्दछन् । डा. पाठकले जनभावनाको कदर गर्दै एक सम्मानजनक सम्बोधन प्रयोग गर्नु कुनै अपराध होइन, बरू त्यो सांस्कृतिक उत्तरदायित्व हो ।
यस्तो सवेदनशील विषयलाई लिएर राज्यले प्रकट गरेको अधिनायकवादी व्यवहारले स्वतन्त्र अभिव्यक्ति, धार्मिक आस्था र मौलिक अधिकारमाथि प्रहार गरेको छ । यो कदम नेपालमा बढ्दो रूपमा देखिएको राष्ट्रविरोधी, हिन्दू विरोधी मानसिकताको अर्काे उदाहरण हो ।
विज्ञप्तिमार्फत राष्ट्रिय बजरंग दलले राज्यसँङ्ग तीन बुँदे माग राखेको छ । संवाद सचिव डा. फणी राज पाठकलाई अविलम्ब, सम्मानपूर्वक र बिना शर्त रिहा गर्नुपर्ने, घटनाको जिम्मेवारी लिने सरकारी अधिकारीहरूलाई स्पष्ट जवाफदेही बनाइनुपर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन राज्यले संवैधानिक मर्यादाको पालना गर्नुपर्ने राष्ट्रिय बजरंग दलका अध्यक्ष जायसवालले माग गरेका छन् ।
उनले यस्तो जनभावनाविरोधी र हिन्दू आस्थामाथि चोट पुर्याउने कार्यका विरूद्ध देशव्यापी आक्रोशित जनआन्दोलनको आँधी उठ्नेछ, जसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकार आफैले वहन गर्नुपर्नेछ विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
Facebook Comments Box