सहारा दैनिक

spot_img
Homeदेशदुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिकको उपस्थिति शुन्य, कमाउ चोकमा जमघट

दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिकको उपस्थिति शुन्य, कमाउ चोकमा जमघट

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ जेठ ।
आवश्यक स्थानमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा दुर्घटनामा व्यापक वृद्धि भएको छ ।
पर्सा जिल्ला सदरमुकाम अन्तर्गत बाइपास सडक र ड्राइपोर्ट सडकको मुख्य अर्थात् खुला स्थानमा जहाँ ट्राफिक नहुँदा दुई पाङ्ग्रेदेखि ठूला सवारी साधनहरुले अनियन्त्रित गतिमा चलाउँदा दिनहुँ दुर्घटना हुँदा मानिसको ज्यान समेत गइरहेको अवस्थामा पर्साका ट्राफिक प्रहरी असूली गर्ने स्थानहरुमा मात्र उपस्थिति जनाउने गरेको देखिन्छ ।


पछिल्लो एक हप्ताभित्रै दुई ठूला दुर्घटना भएका छन् । जसमा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । साना–तिना दुर्घटना त कति भए कति ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक सप्ताह अर्थात् सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकै अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १४ स्थित बाइपास सडकमा कार दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए ।
त्यस्तै, ट्राफिक सप्ताहको समापन सँगै ड्राइपोर्ट सडक अन्तर्गत जगरनाथपुरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
यता, ट्राफिक प्रहरी भने पैसा कमाउ चोक–चोकको रुपमा चर्चित ड्राइपोर्ट अगाडिको सडक, परवानीपुर चोक, गण्डक चोक, बसपार्क र वीरगंज भन्सारस्थित शंकराचार्यद्वारमा मात्र परिचालन रहेको देखिन्छ ।
बाइपास सडकको अति नै दुर्घटना हुने स्थान ब्रह्म चोक, भिस्वा होटल चोक, पिपरालगायतका स्थानमा भने ट्राफिक प्रहरी देख्दैनन् ।
ड्राइपोर्ट अगाडि रहेको ट्राफिक पोष्टले आइसिपी र ड्राइपोर्टबाट निस्किने ओभरलोड मालवाहक सवारी साधनबाट अवैध असूलीमा मात्र व्यस्त रहने गरेको प्रत्यक्षरुपमै देखिने गरेको छ । गण्डक चोक र परवानीपुर चोकमा पनि उद्योग, कलकारखानाबाट निस्किने र वीरगंज बजारबाट निस्किने साना तथा ठूला मालवाहक सवारी साधनलाई रोकेर अनावश्यक बखेडा खडा गरी असूली धन्दामै सक्रिय रहने गरेको सवारी चालकहरुले बताउने गरेका छन् ।
बसपार्कमा अव्यवस्थित पार्किङ बहानामा पनि यात्रुवाहक सवारी साधनबाट संस्थागत रुपमै असुल्ने गरेको एक बस व्यवसायीको भनाइ छ ।
यसरी नै वीरगंज भन्सार, शंकराचार्यद्वार अगाडि खटिएका ट्राफिक प्रहरीले दिनभरि चेकजाँचको नौटङ्की गरे पनि बेलुकातिर मादक पदार्थ सेवन गरी जाने भारतीय सवारी साधनका चालकलाई रोकेर मापसेको बहानामा असुल्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्ष्Fक लोकराज भट्टसँग ओभरलोड सवारी साधन र तीव्र गतिमा हिंड्ने सवारी साधनलाई कारबाही गरेको विवरण माग गरेको एक महीना भए पनि अहिलेसम्म उपलब्ध गराएका छैनन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -