वीरगञ्ज, २७ जेठ ।
सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आज विशेष सूचनाको आधारमा भारतबाट अबैध रूपमा ल्याइएका १३ लाख ७१ हजार ९८० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
टोलीले वीरगञ्ज महानगरपालिका–१० बजरंगटोलस्थित ‘सुधा कुञ्ज’ नामक तीनतले पक्की घरको भुइँतलामा धिरज रौनियारले भाडामा लिई गोदामको रूपमा भण्डारण गरेका सामानहरु नियन्त्रणमा लिएको हो। सो स्थानबाट कपडा तथा भारतीय नम्बर प्लेट BR05U4530 भएको SUPER SPLENDOR मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडाको मूल्य ७,७०,५०० रुपैयाँ रहेको छ भने मोटरसाइकलको अनुमानित मूल्य १,५०,००० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। यी दुवै सामग्री नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।
त्यस्तै, सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० र १६ स्थित विभिन्न सीमा नाकाबाट भन्सार छली ल्याइएका २,४८,१०० रुपैयाँ बराबरका कपडा तथा मसला नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले पनि बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीबाट भारतबाट अबैध रूपमा ल्याइएको किराना सामानसहित BR 22 T1432 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त किराना सामानको मूल्य २३,३८० रुपैयाँ र मोटरसाइकलको अनुमानित मूल्य १,८०,००० रुपैयाँ रहेको छ।
संपूर्ण सामानहरू आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।