सहारा दैनिक

spot_img
Homeदेशप्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक छ– मानव अधिकार आयोग

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक छ– मानव अधिकार आयोग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ जेठ । 
राष्ट्रिय मानव अधिकार आयोगले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति चिन्ताजनक भएको जनाएको छ ।
आगामी जेठ १५ गतेवाट राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा जनआन्दोलन गर्न लागेको र सोही आन्दोलनको सन्दर्भलाई इङ्गित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुर्ईबजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका सहसचिव/प्रवक्ता डा. टीकाराम पोखरेलले देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई रहेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण तवरवाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन । यस परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीवाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ । जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्रुनो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।
विज्ञप्तिमा जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको उल्लेख छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -