सहारा दैनिक

spot_img
Homeदेशदेशको वर्तमान विषम परिस्थितिमा संविधान २०४७ अपरिहार्य– प्रवक्ता चन्द

देशको वर्तमान विषम परिस्थितिमा संविधान २०४७ अपरिहार्य– प्रवक्ता चन्द

राष्ट्रिय बजरंग दलको केन्द्रीय सचिवालयको उदघाटन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
राष्ट्रिय बजरंग दलको केन्द्रीय सचिवालयको एक समारोहबीच उदघाटन भएको छ ।
बारा जिल्ला सदरमुकाम कलैयामा स्थापना भएको बजरंग दलको केन्द्रीय सचिवालयको एक कार्यक्रमबीच राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले उदघाटन गर्नुभयो ।
बजरंग दलका केन्द्रीय अध्यक्ष्F राजु जयसवालको सभापतित्वमा आयोजित सचिवालय उदघाटन तथा वर्तमान नेपालको विषम राजनैतिक परिस्थितिमा हिन्दू अधिराज्य र राष्ट्रिय मेलमिलापको आन्दोलित आवश्यकता किन ? विषयक अन्तरक्रिया कार्यक्रम अन्तर्गत बजरंग दलको केन्द्रीय सचिवालयको उदघाटनपश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रवक्ता चन्दले देशको वर्तमान विषम परिस्थितिमा संविधान २०४७ अपरिहार्य भएको बताउनुभयो ।
उहाँले हिन्दू अधिराज्य र राजसंस्था पुनरस्थापनाका लागि जारी आन्दोलन अन्तर्गत गठित संयुक्त जन आन्दोलन समितिका पदाधिकारीहरुलाई खबरदारी गर्दै संविधान २०७२ को खारेजी र संविधान २०४७ पुनरस्थापनाको सार्वजनिक माग राखेर अघि बढ्न सुझाव दिनुभयो ।
राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता चन्दले हिन्दू अधिराज्यसहित राजसंस्था पुनरस्थापनाका लागि आरपारको लडाईंमा अघि बढ्न आह्वान गर्दै जन आन्दोलन परिचालन समितिलाई संविधान २०४७ लाई प्रमुख मुद्दा बनाउने हेक्का राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा डा. राजीव झाले गणतन्त्रवादीहरुले मुलुकलाई तहसनहस पारेको आरोप लगाउँदै वर्तमान परिस्थितिबाट मुलुकलाई निकास दिन संविधान २०४७ मात्र एक विकल्प रहेको बताउनुभयो ।
अन्तरक्रियामा सहभागी सञ्जीव झाले जनताको लागि भनेर ल्याइदिएको संविधान २०७२ नेताको लागि मात्र कारगर सावित भएको आरोप लगाउनुभयो । जनताको नाममा संविधान २०७२ ल्याइएको भए पनि जनताको हकमा नभएको बताउनुभयो । अहिलेको अवस्थामा हिन्दू अधिराज्यसहित राजसंस्था पुनरस्थापना अपरिहार्य भएको बताउनुभयो ।
अन्तरक्रियामा सहभागी अन्य वक्ताहरुले पनि अब गाउँ–गाउँ, टोल–टोलबाट उठेर भ्रष्टतन्त्रलाई लखेटने बेला भएको बताएका छन् ।
देशको बलः राष्ट्रिय बजरंग दल भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जयसवालले एक प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नुभयो ।
अध्यक्ष जयसवालले जारी गरेको प्रतिबद्धता पत्रमाः
नेपाल सनातन हिन्दू राष्ट्र हो, जसको पहिचान देवभूमि र तपोभूमिका रूपमा प्राचीन कालदेखि स्थापित छ । यतिबेला वैश्विक स्तरमा हिन्दू सभ्यता र दर्शनप्रति आकर्षण बढिरहेको सन्दर्भमा नेपालले आफ्नो मूल सनातन पहिचान पुनःस्थापना गर्नुपर्ने अत्यावश्यक छ ।
प्रतिबद्धता पत्रमा हिन्दु अधिराज्य पुनः स्थापनार्थ संवैधानिक अभियान अन्तर्गत धर्म निरपेक्षताको नाममा भइरहेको सनातन मूल्य–मान्यताको अपमानको प्रतिकार गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै सनातन सांस्कृतिक राष्ट्रवादको प्रवद्र्धन अन्तर्गत वेद, उपनिषद, पुराण, रामायण, महाभारत आदि राज्यहरूमा आधारित राष्ट्रिय चरित्र निर्माणमा संस्कृत शिक्षाको पुनजीवन तथा गुरूकुल परम्पराको पुनःस्थापना गर्नुपर्नेमा जोड दिएको छ ।
देवभूमि र तपोभूमिको अन्तर्राष्ट्रिय पहिचान प्रवद्र्धन अन्तर्गत पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनी आदि पवित्र स्थलहरूको संरक्षण र विश्वस्तरीय प्रचार गर्नुपर्ने, नेपाललाई ‘हिन्दू तीर्थ पर्यटन केन्द्र’को रूपमा विकसित गर्न रणनीतितर्फ अग्रसर हुने, धार्मिक–सांस्कृतिक शिक्षा अनिवार्य गर्ने नीति निर्माणमा दबाब सिर्जना गर्न प्रतिबद्धता पत्रमा उल्लेख छ ।
स्वराज्य, सु–सभ्य समाज भित्र रहेको नेपालीको एकतामा खलल पुर्याउने वा भाँडन खोजिएमा जुनसुकै चुनौतीको सामना गर्न तयार रहने भनिएको छ ।
त्यस्तै विद्यालय तहमा हिन्दू धर्मशास्त्र, नीतिशास्त्र, संस्कृत शिक्षा र योगलाई पाठ्यक्रममा समावेश गराउने अभियान चलाइनुका साथै धार्मिक संस्थाहरूमा वैदिक संस्कारका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, सनातन परम्पराको रक्षा र विकृति विरूद्ध संघर्ष अन्तर्गत धर्मको नाममा चलाइएका विकृत प्रथाहरू र अवैध धर्मान्तरण विरूद्ध कठोर कानुनी व्यवस्था गराउने, विदेशी धर्म विस्तारमा लागेका संस्थाहरूको अनुगमन र नियन्त्रणको माग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
त्यसैगरी सामाजिक समरसता र जातीय एकताको सुदृढीकरणका लागि जात, वर्ण, लिंग आदि विभाजनभन्दा माथि उठी सनातन धर्मको ‘वसुधैव कुटुम्बकम्’को भावना फैलाउने, राष्ट्रिय सुरक्षासँग धर्मको सम्बन्धमा हिन्दू राष्ट्रका रूपमा नेपालको सुरक्षा रणनीति तयार गर्न नीति–निर्माण तहमा दबाब सिर्जना गर्ने, खुला सीमाको दुरूपयोग रोक्न हिन्दू सांस्कृतिक सुरक्षा नीति प्रस्ताव गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
वैश्विक हिन्दू एकता र सम्पर्क सञ्जाल अन्तर्गत विभिन्न संघसंस्थाहरुसंग सहकार्य र सञ्जाल विस्तार गर्ने उल्लेख छ ।
आन्दोलन, चेतना र सामाजिक सेवा अन्तर्गत राष्ट्रव्यापी जनजागरण यात्रा, यज्ञ, संकीर्तन, गीता–रामायण सप्ताह, धर्मसभाजस्ता गतिविधि गर्नुको साथै विपद राहत, गो–संरक्षण, अनाथ बालबालिकाको संरक्षणजस्ता सेवा कार्यमा सक्रिय हुने प्रतिबद्धता पत्रमा भनिएको छ ।
अन्त्यमा राजनीतिक चेतना र नेतृत्व निर्माणतर्फ हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मुलमन्त्रका साथ राष्ट्रवादी, हिन्दूवादी सोच भएका युवाहरूलाई नेतृत्व परिचालनमा जोड दिने र हिन्दू राष्ट्र पुनःस्थापनार्थ वैचारिक र सांगठनिक मोर्चामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 राष्ट्रवादी अभियन्ता मानव सेवकले सञ्चालन गर्नुभएको कार्यक्रममा बृजकिशोर जयसवाल, सन्जय साह लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -