सहारा दैनिक

spot_img
Homeदेशतिनै तहका सरकार खानेपानीसम्बन्धी समस्या समाधानमा केन्द्रित हुनुपर्छ’

तिनै तहका सरकार खानेपानीसम्बन्धी समस्या समाधानमा केन्द्रित हुनुपर्छ’

धनुषा, १० जेठः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तिनै तहका सरकारबीच सहकार्य र समन्वय गरी खानेपानीसम्बन्धी विद्यमान समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा आयोजित कार्यशाला गोष्ठीलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उहाँले जमिनमुनिको पानीलाई बचाउन योजनाबद्व काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले प्रकृतिलाई दोहन गर्ने र पुनर्जागरण नगर्ने मानवीय गतिविधि आफ्नै लागि खतरनाक हुने उल्लेख गर्नुभयो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएको नेता निधिले मानवले उपयोग गर्ने प्राकृतिक स्रोतसाधनको भण्डारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रकृतिलाई दोहन गर्ने तर पुनर्भरण गरिएन भने एक दिन सबै रितिन्छ अनि के गर्ने ?, उहाँले प्रश्न गर्नुभयो ।
कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकालले वर्षाको पानी जम्मा गरेर कतिपय स्थानमा पानीको आपूर्ति भइरहेको दृष्टान्त सुनाउँदै पानीप्रति हरेक नागरिक सचेत र संवेदनशील हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले पानी सबैलाई चाहिने तर बचाउन कसैले ध्यान नदिने प्रवृत्ति बढिरहेकाले समस्या बढ्दै गएको बताउनुभयो ।
“हामीसँग प्राकृतिक रूपमा पानीमा प्रशस्त स्रोतहरू छन् । पानीलाई ल्याउन, प्रशोधन गर्न, शुद्व बनाउन तथा घरघर पु¥याउन खर्च लाग्छ तसर्थ निःशुल्क वितरण भने तत्काल सम्भव छैन”, ढकालले भन्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अब कमलाको पानी जनकपुरधाम ल्याउनुपर्ने बताउनुभयो । कर्मचारी सङ्घका अध्यक्ष केदार धमलाले सबै मिलेर पानीको भविष्यगत योजना बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
सङ्घका स्थानीय अगुवा अजयकुमारप्रसाद मिन्टुले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने इञ्जिनियर शिरिषराज भण्डारी, इञ्जिनियर राकेश गोइतले मधेसको खानेपानीको अवस्था र चुनौती, संस्थानका इञ्जिनियरिङ महाशाखा प्रमुख निरण महर्जनले राष्ट्रियस्तरको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -