काठमाडौँ, २ जेठ : भारतीय साहित्यका अकादमी पुरस्कारबाट सम्मानित कथाकार प्रदीप बिहारीले नेपालमा मातृभाषा संरक्षणको स्थिति सकारात्मक रहेको बताउनुभएको छ ।
संस्कार मिथिलाले आज यहाँ आयोजना गरेको ‘अलङ्कार–३’ कार्यक्रममा बिहारीले भारतमा मैथिली भाषाप्रति संस्थागत प्रयासहरू भए पनि मातृभाषाप्रतिको दायित्व र रुचि अरू भाषाले ओगटेको बेला नेपालमा भने मातृभाषाप्रतिको अपनत्व, संरक्षण र दायित्व बोधको स्थिति सकारात्मक रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “भाषाका लागि सरकारले जति प्रयास गरे पनि जनताले आफ्नो मातृभाषा बोल्न आनाकानी गर्ने होभने सबै प्रयास व्यर्थ हुन्छ । तर नेपालमा यस्तो स्थिति मैले देखिनँ । मेरो कथा लेखनको थालनी नेपालकै भूमिबाट भएकाले मलाई यसप्रति अझै गौरवबोध हुन्छ ।”
कार्यक्रममा उपस्थित राजनीतिक विश्लेषक सीके लालले कथा जगत्मा यथार्थवादी कथाहरूको छुट्टै विशिष्टता भएको र पाठकलाई सदैव समकालीन प्रतीत हुने भएकाले यसतर्फ समेत कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा मैथिली साहित्यको लघुकथा विधामा केन्द्रित रही कथाकार मेनका मल्लिक र प्रदीप बिहारीसँग साहित्यकार धीरेन्द्र प्रेमर्षि र विकास वत्सनाभले अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा डा रामदयाल राकेश, मधेस प्रदेशसभा सदस्य मनिष सुमन, साहित्यकार विभा झा, रूपा झा, गजेन्द्र गजुर, अमरेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो ।रासस