सहारा दैनिक

spot_img
Homeदेशराजाको आव्हानको समर्थनमा आयोजित जनप्रदर्शन तथा सभामा प्रहरी हस्तक्षेप, एकको मृत्यु, ३५...

राजाको आव्हानको समर्थनमा आयोजित जनप्रदर्शन तथा सभामा प्रहरी हस्तक्षेप, एकको मृत्यु, ३५ जना घाइते

सहारा संवाददाता–––––––––––––––
वीरगंज,  १५ चैत ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको नेतृत्वमा आयोजित जन प्रदर्शन तथा सभामा प्रहरी हस्तक्षेप भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
काठमाडौंस्थित तीनकुनेमा सभाको लागि भेला हुने क्रममा भएको महाअभियान लगायत विभिन्न संघ संगठनका सहभागीहरुलाई तितर बितर गर्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उत्तेजित भीडले तोडफोडमा उत्रिदा स्थिति अनियन्त्रित भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कफर्यु आदेश जारी गरेको छ ।
पूर्व राजाबाट ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा फागुन ६ गते भएको आव्हानको समर्थनमा आयोजना गरिएको विशाल जनप्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि उत्तेजित भीड तोडफोडमा उत्रिएका छन् ।
कार्यक्रम स्थल नजीक रहेको एक भवनबाट सादा पोशाकका प्रहरीहरुले अश्रुग्यास र ढुंगामुढा गरेपछि उत्तेजित प्रदर्शनकारीहरुले उक्त भवनमा तोडफोड गरेको आन्दोलनमा सहभागीहरुले जनाएका छन् ।
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारी सबिन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ ।
यसैबीच गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पूर्व राजाका समर्थकहरुले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा झडप हुँदा एकजनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा महर्जनको मृत्यु भएको छ भने झडपका क्रममा प्रदर्शनकारी तर्फ २३ जना, सशस्त्र प्रहरी बलका ९ जना र नेपाल प्रहरी तर्फ ३ जना घाइते भएको बताएका छन् ।
उनले आन्दोलनका प्रमुख दुर्गा प्रसाईलाई कारबाहीको दायरामा ल्याउने समेत जनाएका छन् । झडपका क्रममा आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र गोली प्रहार गरेपछि आक्रोशित भीडले नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन् ।
यसैबीच संविधान २०४७ को पुनस्र्थापनाका लागि शान्तिपूर्ण प्रदर्शन एवं सभाका लागि ओर्लिएका लाखौं जनताको भीड देखेर अत्तालिएका राज्यले दमनकारी नीति अवलम्बन गरेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले आरोप लगाउनुभएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -