सहारा संवाददाता–––––––––––––––
रौतहट, २६ फागुन ।
११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ विषयक अन्तक्र्रिया कार्यक्रम गौर नगरपालिकाको सभाहलमा सोमवार सम्पन्न भएको छ ।
श्री नारी चेतना महिला कृषक सहकारी संस्थाको आयोजनामा आयोजित कार्यक्रमको उदघाटन नगरप्रमुख शम्भु साहले गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले महिलाको हक अधिकारका विषयमा मन्तव्य राखेका थिए । संस्थाकी गीता कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शैल देवी, वडा नं.५ का वडाध्यक्ष शिवशंकर यादवलगायत महिला अधिकारकर्मीहरूको सहभागिता थियो ।
कार्यक्रममा महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेकोमा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्यमाथि संस्थाकी अध्यक्ष कुशवाहाले प्रकाश पारेकी थिइन् । उनले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथामा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्नुपर्ने बताएकी थिइन् ।कार्यक्रममा छात्रछात्राहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।