वीरगंज,२४ मंसिर । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगंज ल्याइएको छ ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ । सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
लामिछानेलाई वीरगंज ल्याइएपछि रास्वपाका कार्यकर्ताहरूले मंगलवार जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि प्रदर्शन गरेका थिए ।
रास्वपा पर्साको नेतृत्वमा लामिछानेलाई रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् । रास्वपाको स्थानीय तहदेखिका नेता कार्यकर्ताहरू भेला भएर प्रदर्शन गरिएको रास्वपा पर्साका संयोजक हरि पन्तले बताए ।
वीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधवार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपियाँँ गएको थियो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमवार बिहानै पोखराबाट वीरगंज ल्याइ पुर्याईएको पर्साका प्रहरी उपरीक्ष्Fक कुमोद ढुंगेलले बताउनुभयो ।
दुवै जनालाई आइतवार बेलुका पोखराबाट गाडीको बाटो हुँदै सोमवार बिहान वीरगंज ल्याइएको ढुंगेलले बताए । वीरगंजस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइने र त्यसपछि उनिहरूलाई पोखरा फर्काइनेछ ।
Facebook Comments Box