सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारआर्थिक सुधार सुझाव आयोगद्वारा उद्योगी–व्यवसायीसँग सुझाव सङ्कलन

आर्थिक सुधार सुझाव आयोगद्वारा उद्योगी–व्यवसायीसँग सुझाव सङ्कलन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ मंसिर ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगंजका उद्योगी व्यवसायीसँग छलफल गरेको छ ।
आयोगले अर्थतन्त्र सुधारका लागि सुझाव सङ्कलन गर्ने क्रममा आइतवार यहाँका उद्योगी व्यवसायीहरुसँग छलफल गरेको हो ।
आयोगले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी तथा व्यवसायीको सुझाव लिइएको छ ।
कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले अहिलेको अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर सुधार गर्नका लागि सुझाव सङ्कलनको कार्य गरिरहेको बताउनुभयो ।
उहाँले आयोगको गठन भएपछि यहाँका उद्योगी–व्यवसायीले भोगिरहेका समस्याका विषयमा आवश्यक सुझाव लिनका लागि आएको बताउँदै यहाँका उद्योगी व्यवसायीले दिएको सुझावलाई प्रतिवेदनमा समावेश गरेर सुधारको आवश्यक रणनीति अघि बढ्ने भन्नुभयो ।
पूर्वअर्थसचिव समेत रहनुभएका खनालले नेपालले २०४८ सालपछि एक पटक आर्थिक सुधारमा निकै राम्रो फड्को मारेको बताउनुभयो ।
उहाँले विसं २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै नेपालको अर्थतन्त्रले फड्को मारेको भन्दै उहाँले अर्थतन्त्रका देखिएका समस्यालाई मध्यनजर गर्दै समाधान गर्नका लागि सुझाव सङ्कलन कार्यक्रमले ठूलो अर्थ राख्ने बताउनुभयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक मन्दीको कारण मुलुकको अर्थतन्त्रमा समस्या आएकाले उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको गुनासो व्यक्त गर्नुभयो ।
उहाँले भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी)लागू गरेपनि नेपाल सरकारले मान्यता नदिँदा उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो ।
उहाँले नेपाल–भारत खुला सीमाक्षेत्रको कारणले अवैध व्यापार रोकिएको छैन । त्यसलाई नीतिगत रूपमा सुधार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
मन्त्रिपरिषद्को गत असोजमा बसेको बैठकले पूर्वअर्थसचिव खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहनुभएको छ ।
गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप सदस्यमा राखेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -