सहारा दैनिक

spot_img
Homeदेशन्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ–प्रधानन्यायाधीश

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ–प्रधानन्यायाधीश

काठमाडौँ, २२ मङ्सिर (रासस)
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनुभएको छ ।
काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानन्यायाधीश भन्नुभयो, “न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।”
उहाँले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध पनि गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले थप्नुभयो, “तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूमा नमन गर्न चाहन्छु ।”
उहाँले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताउनुभयो ।
प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तफाईंहरूलाई छाडेँ ।”
महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवत्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उहाँले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गर्नुभएका डा भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन सकिएन भने गरिमामाथि आँच आउने बताउनुभयो । उहाँले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औँल्याउनुभयो ।
समारोहमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राख्नुभएको थियो । आज कार्यक्रममा प्रधानन्यायाधीश राउतले एक सय ५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र दिनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -