सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० मंसिर ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा कृष्णहरि पुष्करले राजस्व चुहावट नियन्क्रण गर्न सशत्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।
वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले संघको सभाहलमा बिहिवार आयोजना गरेको “राजस्व चुहावट नियन्क्रण तथा सम्बन्धि अन्तरत्रिया तथा छलफल कार्यक्रम”मा सचिव पुष्करले यस्तो निर्देशन दिनु भएको हो ।
सचिव पुष्करले बारा, पर्सा र रौतहटका प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरुलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिंदै सरकारले तोकेअनुसारको राजस्व संकलन हुन सकिरहेको छैन । तपाईहरुले आआफ्नो ठाउबाट समन्वयात्मक ढंगले सशक्त काम गर्न जरुरी रहेको बताउनु भयो ।
उहाले एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर होइन । हातेमालो गरेर सरकारको लक्ष्य भेटाउने गरी काम गर्न आग्रह गर्नु भयो ।
सरकारी निकायले निजी क्षेत्रसंग सहकार्य र हातेमालो गरेर राजस्व बढाउनेतर्फ अग्रसर हुन आग्रह गर्दै उहाले निजी क्षेत्रलाई हतोत्साही ढंगले नभई हातेमालो गरेर अघि बढाउन जरुरी छ भन्नु भयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले मुलुकमा अनौपचारिक कारोबार बढेकाले पनि सरकारले अपेक्षाकृत ढंगले राजस्व संकलन गर्न नसकेको बताउनु भयो ।
उहाले हाम्रो राजस्व संकलन गर्ने पद्धति नै सुधार गर्नुपर्ने बताउदै राजस्व बढाउनका लागि भन्सारको दरबन्दी बढाउने प्रचलन छ । सीमा क्षेत्रको वस्तुको मूल्य र हाम्रो वस्तुको मूल्य कति अन्तर छ हेरिंदैन । जसले गर्दा राजस्व चुहावट वृद्धि भइरहेको बताउनु भयो ।
कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भंसार प्रशासक दीपक लामिछानेले वीरगंज नाकाबाट पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थ आयात क्रमशः घट्दै गइरहेको बताउदै नेपालको राजस्व प्रणाली नै आयातमुखी भएको बताउनु भयो ।
पछिल्लो समय आयात घटेकाले राजस्व संकलनमा दबाब परिरहेको भन्दै उहाले सबै निकायले समन्वय गरेर काम गर्न आवश्यक छ भन्नु भयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक निकायले अर्कोलाई दोषारोपण गरेरभन्दा सबै निकायले हातेमालो गरेर अघि बढेको खण्डमा सरकारको लक्ष्य प्राप्ति गर्न सकिने बताउनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै निकायले समन्वयात्मक ढंले काम गरे सरकारको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय पथैलयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले राजस्व चुहावट सम्बन्धि गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढंगले काम गरिरहेको दाबी गर्नुभयो ।
राजस्व चुहावट नियन्त्रण गर्न प्रभावकारी ढंगले काम गर्न निर्देशन
Facebook Comments Box