सहारा दैनिक

spot_img
Homeदेशविवाहपञ्चमी महोत्सवले नेपाल–भारत बीचको सम्बन्ध प्रगाढ–मुख्यमन्त्री सिंह

विवाहपञ्चमी महोत्सवले नेपाल–भारत बीचको सम्बन्ध प्रगाढ–मुख्यमन्त्री सिंह

धनुषा, २० मंसिर (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारत बीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताउनु भएको छ ।
त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।
उहाँले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गर्नुभयो । अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको संख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गर्नुभएको हो ।
मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम भएको हो । रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई नयाँस्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुभयो ।
अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो । जन्तीलाई मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गर्नुभएको थियो ।
विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न
यसैबीच जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ ।
जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो । रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए ।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गंगासागर पुगेका थिए । मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ । गंगासागरमा उत्तराधिकारी महन्तदासले माटो निकाल्नुभएको थियो ।
मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, संघीय सांसद जुली महतो, जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहलगायतको सहभागिता रहेको थियो ।
अतिथि एवं साधुसन्तलाई प्रदेशसभा सदस्य रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
महिलाहरुले माटो बोकेर नगर फरिक्रमा गरेका थिए । मटकोरको त्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ ।
जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गंगासागर पुग्ने गर्छ । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भिर्त्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।
जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ । शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौँ दिन मटकोर कार्यक्रम भएको हो । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -