काठमाडौँ, २० मंसिर (रासस)
नेपाल पत्रकार महासंघले सुनसरी स्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिनु भएको थियो ।
समाचार प्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ ।
यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रता माथिको ज्यादती हो, महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रमुख साम्पाङको उक्त शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ ।
महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
Facebook Comments Box