सहारा दैनिक

spot_img
Homeदेशरामजानकी विवाह पञ्चमीः अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

रामजानकी विवाह पञ्चमीः अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

धनुषा, १८ मंसिर (रासस)
रामजानकी विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ ।
करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गर्नुभयो । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले “जय सियाराम” को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।
यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गर्नुभएको थियो । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ । यो हाम्रा लागि विशेष शौभाग्य हो । जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो ।
जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ । केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ । विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।
सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाह पञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, भगवान् श्रीरामले कसैले हल्लाउन नसकेको शिव धनुष तीन टुक्रा पारेपछि माता सीतासँग विवाह निश्चित भएको थियो । मटिहानीमा लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले मटिहानीमा जन्तीको स्वागत गर्नुभएको थियो ।
भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती आज जनकपुरधाम पुगेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -