सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ मंसिर ।
नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पत्रकारलाई सहि बिषय उठान गर्दा अनेकन किसिमका समस्या सृजना हुने भएपनि पत्रकारले निर्धक्क भएर कलम चलाउने पर्ने वताउनु भएको छ ।
स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति सभा एवं पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
उहाले पत्रकारिता क्षेत्रमा निकै चुनौती रहेको बताउदै कसैले पत्रकारको कलमलाई रोक्ने प्रयास गर्र्यो भने त्यो निरंकुशता हुने बताउनु भयो ।
पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै अध्यक्ष नेपालले जे तथ्य हो त्यहि नै सत्य भएकाले त्यो भन्दा अरु सबै कुरा गलत हुने तर्क गर्दै राज्य र समाजबाट समेत निरुत्साहित बनाउन चालिएका कदमहरुले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसंगहरु आएको बताउनु भयो ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार स्व. नरेश सर्राफको निधनले सिंगो प्रेस जगतमा ठूलो क्षती पुगेको बताउदै स्व. सर्राफ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
उहाले कार्यक्रममा नेपाल पत्रकार महासंघको आउदो निर्वाचनको सन्दर्भमा सहमतीको माध्यले साझा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिनु भयो ।
स्वर्गीय नरेश सर्राफको दोस्रो स्मृति सभामा समाजवादी प्रेस संगठनले स्थापना गरेको स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई प्रदान गरिएको गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिती पूर्व प्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित पुरस्कार राशी रु २१ हजारको चेक प्रदान गरी सम्मानित गर्नु भयो ।
समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको सभापतित्वमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सेण्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे, पर्साका अध्यक्ष दिपक गौतम, लगायतले मन्तव्य गर्नु भएको थियो ।
रेडियो वीरगंज परिसरमा आयोजित कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन नेपाल पर्साका सह–सचिव श्याम सर्राफले गरेका थिए । समाजवादी प्रेस संगठन नेपाल, पर्सा र नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको ३८ बर्षको उमेरमा २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएको थियो ।
पत्रकारले निर्धक्क भएर कलम चलाउनु पर्छ–अध्यक्ष नेपाल
Facebook Comments Box