सहारा दैनिक

spot_img
Homeदेशमधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्वका योजनाहरू निर्माणमा गति दिनुपर्छ–मुख्यमन्त्री...

मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्वका योजनाहरू निर्माणमा गति दिनुपर्छ–मुख्यमन्त्री सिंह

धनुषा, ११ मंसिर (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको संयुक्त आयोजनामा आज जनकपुरधाममा प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालासँग कार्यशाला गोष्ठीमा मुख्यमन्त्री सिंहले वर्षौंसम्म योजना पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मधेसलाई संघीय राजधानीसँग जोड्ने द्रुतमार्ग र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा बर्सेनिरूपमा अर्बौंको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो ।
मधेसमा विकासको धेरै सम्भावना भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले मधेस प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरूरी भएको बताउनुभयो ।
मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरू डा शिला मिश्र, डा राजकुमार सिंह, डा रिना यादवलगायतले मधेस प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रूपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेललगायतका वक्ताहरूले कानुनी जटिलतामा सुधार गरेर अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -