सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ मंसिर ।
जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्व टोली वीरगंजबाट अयोध्या प्रस्थान गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित २५१ सदस्यीय प्रतिनिधिमण्डल मंसिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगंजबाट भारत उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको हो ।
मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतवार वीरगंजबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको विश्व हिन्दू परिषद् पर्साले जनाएको छ ।
शनिबार जनकपुरबाट बाजागाजा सहित प्रस्थान गरेका प्रतिनिधिमण्डल शनिबार बेलुका वीरगंज आएर बास बसेका थिए ।
वीरगंजमा बास बसेका अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवमा सहभागिताका लागी जाने मुख्यमन्त्री सिंह नेतृत्व प्रतिनिधिमण्डललाई आइतवार विश्व हिन्दू परिषदका सुनिल खेतानले विदाइ गर्नु भयो ।
वीरगंजमा तिलकोत्सवका सहभागिहरुलाई विश्व हिन्दू परिषदद्वारा भव्य स्वागत गरिएको थियो ।
अयोध्या पुगेपछि सो मन्दिरका पदाधिकारीलाई जानकी विवाह महोत्सवको निम्तो दिनुको साथै सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सव आयोजना हुने कार्यक्रम रहेको जनाइएको छ ।
परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतिकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र रानीका लागि लत्ताकपडा, गरगहनासँगै माखन, दही, च्यूरा, फलफूलसहित मिष्ठान्न पकवान सौगात स्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मुख्यमन्त्री नेतृत्व प्रतिनिधिमण्डलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल मियाँ, श्रम तथा यातायातमन्त्री कौशल किशोर यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णव लगायत नागरिक समाजका प्रतिनिधि सहभागी रहेका छन ।
मुख्यमन्त्री सिंह नेतृत्व तिलकोत्सवका सहभागी टोलीलाई भव्य स्वागत
Facebook Comments Box