सहारा दैनिक

spot_img
Homeदेशभ्रष्टाचार विरुद्ध नयाँ समाजवादी आन्दोलन आवश्यक–अध्यक्ष प्रचण्ड

भ्रष्टाचार विरुद्ध नयाँ समाजवादी आन्दोलन आवश्यक–अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० कात्तिक (रासस)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले अब भ्रष्टाचार विरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।
आज यहाँ सोमत घिमिरेद्वारा लिखित “सामुदायिक समाजवाद” पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो ।
“वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले “२१औँ शताब्दीको नयाँ जनवाद” पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले ऊक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सत्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ…्घर्षरत रहेको बताउनुभयो । आदिवासी जनजाति अधिकारकर्मी सरु सिंगक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत (समाजवादी)का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -