सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ कार्तिक ।
विवादका कारण डुबानमा परेका वीरगंज महानगरपालिका सुगौलीविर्ता, हरपतगंज बहुअरीको पानी निकासको काम सुरु भएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पटक–पटकको प्रयास पछि बिहिवारबाट पानी निकासको काम सुरु भएको हो ।
बिहीबार बिहान मेयर सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेल, ससस्त्र प्रहरी बलका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेका थिए ।
त्यस क्षेत्रको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द हृयुमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले दिउसोबाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो ।
दुई दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको हृयुमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको मेयर सिंहले जानकारी दिनु भयो ।
दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो ।
तीनवटै वडाको पानीको निकास वडा नं. १७ अलाौस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्षाको पानी सो स्थानमा राखिएका दुईवटा हृयुमपाइपबाट निकास हुंदै आएकामा यसपटक हृयुमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेका थिए ।
गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउदा त्यहाँ लगाइएको ५० औं विघाभन्दा बढी धानबाली नष्ट हुने अवस्थामा पुगेको थियो ।
लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।
विगतमा नहरको क्यानल र दुईवटा हृयुमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र हृयुमपाइप जाम भएकाले वीमनपा वडा नं. २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।
गत असोज १८ गते जेसीबीद्वारा हृयुमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, सांझ वडा नं. १७ स्थित अलौंवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै हृयुमपाइप पुरेर पानी निकास ठप्प पारेका थिए ।
नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः हृयुमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । अलौं निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुर्व्यहार गरेपछि कुटाकुटसमेत भएको थियो ।
तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ गते मेयर सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जांदा समेत विवाद भएको थियो ।
Facebook Comments Box