सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० असोज ।
चोरीको पाँच मोटरसाइकल सहित पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला सखुवाप्रसौनी गाउपालिका निवासी शिवदत्त दास थारूको चोरी भएको मो.सा. खोज तलासको क्रममा चोरीको ५ मो.सा. सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
असोज २५ गते ७ बजेको समयमा सखुवाप्रसौनी गाउपालिका वडा नं.१ बस्ने शिवदत्त दास थारूको नाममा दर्ता रहेको ना.५१ प ७४३५ नम्बरको मोटरसाईकल निजकै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर चोरी गरी लगेको भन्ने खोज तलासको लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इप्रका पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरीको मो.सा. सहित ३ जनालाई पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
संयुक्त प्रहरी टोलीले खोज तलासको क्रममा असोज २८ गते बेलुकी ५ बजेको समयमा जिल्लाको पर्सागढी न.पा.वडा नं.९ कोइलाभार स्थित स्थानीय वर्ष २१ को सिदार्थ कुमार चौधरीले चलाइरहेको अवस्थामा फेला पारी प्रारम्भिक सोधपुछ गर्दा चोरीमा सलंग्न पर्सागढी न.पा.वडा नं. ८ को बिशाल दास थारु र वडा नं. २ को पृतम कुमार महतोलाई अन्य ४ मो.सा.सहित नियन्त्रणमा लिइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
पक्राउ परेका ३ जना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
चोरीको पाँच मो.सा. सहित ३ पक्राउ
Facebook Comments Box