सहारा दैनिक

spot_img
Homeदेशकानुन अनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ–पशुपति क्षेत्र विकास कोष

कानुन अनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ–पशुपति क्षेत्र विकास कोष

काठमाडौँ, २९ असोज (रासस)
पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको पशुपति गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिने जनाएको छ ।
कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला अदालतले यही असोज १६ गते गरेको फैसलाअनुसार धर्मशाला सञ्चालन गरिने जानकारी गराइएको हो ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राज्यको सम्पक्ति कुनै व्यत्ति विशेषलाई दिन नसकिने भएकाले अदालतको फैसलाअनुसार धर्मशाला खाली गराइने बताउनुभयो । कोष र काठमाडौँ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति भएको उहाँले जानकारी दिनुभयो । कोषले मारवाडी सेवा समितिलाई विसं २०८० साउन १७ गते पहिलेको करार खारेज गरी १५ दिनभित्र सम्झौता गर्न बोलाउँदा नआएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले गौशाला सञ्चालन गर्न दिएको संस्थाले पशुपतिनाथको सम्पत्तिमा नजर लगाएपछि स्थानीय सरकार जिम्मा लिन अघि सरेको बताउनुभयो । उहाँले कोषसँगको सहमतिअनुसार महानगरपालिकाले धर्मशाला सञ्चालन एवं व्यवस्थापन गर्न मारवाडी सेवा समितिसँग कार्यालय राख्ने स्थान माग गर्दा पनि नदिएको सुनाउनुभयो ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मारवाडी सेवा समितिले मोही हुँ भनी गर्दै आएको दावी कानुनी रूपमा प्रमाणित हुन नसक्ने धारणा राख्नुभयो । विसं २०२१ र २०४२ को नापीमा पनि फिल्डबुकमा मोहीका रूपमा समितिको नाम जनाउ नभएको उहाँको भनाइ थियो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कानुनी प्रक्रियाअनुसार नै अघि बढेर धर्मशाला महानगरपालिकासँगको समन्वयमा सञ्चालन गरिने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -