सहारा दैनिक

spot_img
Homeअर्थनिजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ–मन्त्री भण्डारी

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ–मन्त्री भण्डारी

काठमाडौँ, १९ असोज (रासस)
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।
नेपाल रत्न तथा आभूषण संघको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उहाँले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताउनुभयो । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीको भनाइ थियो ।
निजी क्षेत्र पनि सरकारकै अंग भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्र मौन बस्न नहुनेमा जोड दिनुभयो । वर्तमान सरकार भिन्न परिस्थितिमा बनेकाले सरकार मेरो पनि हो भन्ने भावना निजी क्षेत्रले जागृत गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले बहुमूल्य धातुको व्यावसायिक शुद्धता जरुरी रहेको बताउनुभयो । बहुमूल्य धातुको व्यवसायमा व्यावसायिक सुरक्षा र नेपाली कामदार उत्पादन गरेर रोजगारी सुनिश्चितता गर्नुपर्नेमा उहाँको जोड थियो । रत्न तथा आभूषणका क्षेत्रमा कार्यरत कामदार तथा कारिगर विदेशबाट झिकाउनु दुःखद भएको भन्दै मन्त्री भण्डारीले नेपाली कामदार तथा कालिगड उत्पादन गर्न संघको ध्यानाकर्षण गराउनुभयो ।
रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै उहाँले संघले राखेका मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने जानकारी गराउनुभयो ।
छिमेकी मुलुकले सुनमा लगाएको राजस्व र करका दरले नेपालको सुनचाँदी व्यवसाय प्रभावित परेको आफू जानकार रहेको जनाउँदै मन्त्री भण्डारीले करको दरमा समायोजन गर्न सरकारले छलफल थालेको बताउनुभयो । व्यवसायी धराशयी हुने र सरकारले राजस्व गुमाउनुपर्ने स्थितिमा व्यवसायीले राखेको कर समायोजनको विषय सकारात्मक भएको टिप्पणी गर्दै उहाँले चाँडै व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार रहेको जनाउनुभयो ।
मन्त्री भण्डारीले विपद्जन्य अवस्थामा चाडपर्वलाई लक्षित गरेर व्यावसायिक शुद्धतामा विशेष सहयोग गर्न सबै निजी क्षेत्रका व्यवसायीसित आग्रह गर्नुभयो । उहाँले मूल्यवृद्धि र कृत्रिम अभाव गरिए सरकार टुलुटुलु हेरेर नबस्ने बताउनुभयो । साथै उहाँले विपद्को यस घडीमा सरकारले उद्योगी–व्यवसायीको साथ खोजेको उल्लेख गर्दै विपद्मा परेकाहरूलाई सक्दो सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -