सर्लाही, ९ असोज (रासस)
बरामद गरिएका सवारीसाधन समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन भन्सार कार्यालयमा थन्किएका हुन् ।
भन्सार चोरी पैठारीमा संलग्न सवारीसाधन विभिन्न समयमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरेका सवारीसाधनका पार्टपुर्जा काम नलाग्ने गरी कुहिन थालेका हुन् । सर्लाही भन्सारमा करिब ६०० सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २५ चारपाङ्ग्रे सवारीसाधन रहेको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी(पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधान भारतबाट अवैध रूपमा चोरी तस्करीका सर(समान ढुवानी गर्ने सवारी छन् । भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् ।
सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सावारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको जेठतिर पाँच सय सवारीसाधान लिलामी गरिएको जनाउँदै उहाँले मुद्दा टुङ्गो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रष्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौँ तर पैसा नआएका कारण ट्रष्ट निर्माण हुन नसकेको उहाँले जानकारी गराउनुभयो ।
“यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ”, उहाँले भन्नुभयो, “प्रतिवेदन प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।”
Facebook Comments Box