सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असोज ।
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पर्सा जिल्लाका उद्योगी व्यवसायीलाई बागमती प्रदेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघद्वारा बिहिवार संघको सभाहलमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री काफ्लेले बाग्मती प्रदेशमा उद्योग तथा कारखाना विस्तार गर्न आग्रह गर्नु भएको हो ।
मन्त्री काफ्लेले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउदै बागमती प्रदेशमा लगानी गर्न के कस्ता पूर्वाधार आवश्यक पर्छन् त्यसका लागि गर्नुपर्ने सबै खालको सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो ।
बाग्मती प्रदेश सरकार उद्योग र कलकारखाना स्थापनाका लागि कानुनी र अन्य प्राविधिक रुपमा पनि सहजीकरण गरेर औद्योगिक लगानीको वातावरण बनाउन कटिबद्ध रहेको बताउदै मन्त्री काफ्लेले बागमती प्रदेश लगानीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि सबै खालका सहयोग गर्न तयार रहेको छलफलका क्रममा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाले पर्साका उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र जटिलता चिर्न बाग्मती प्रदेश सरकार तयार छ भन्दै मधेश प्रदेशको अर्थ नीतिमा बाग्मती प्रदेशको तर्फबाट गर्न सक्ने सहजीकरण र समन्वय गर्न पनि तयार रहेको बताउनु भयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
उहाले अहिले मुलुकमा देखिएको आर्थिक मन्दीको कारणले जताततै निराशा छाइरहेको छ, सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढेको खण्डमा मात्रै अहिलेको समस्या अन्त्य गर्न सकिन्छ भन्नु भयो ।
त्यसै गरी वीउवा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले राजस्वको दर मात्रै नभएर दायरा बढाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिंदै सरकारले राजस्वको दर मात्रै उठाएर राजस्व बढ्दैन भन्नु भयो ।
कार्यक्रममा संघका उपाध्यक्ष मनोज दास, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कृष्ण मैनाली लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
Facebook Comments Box