सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ भदौ ।
६० औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
“बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी” भन्ने नारासहित बाल दिवसका अवसरमा वीरगंजमा प्रभातफेरी सहित सडक नाटक प्रदर्शन गरिएको छ ।
वीरगंज महानगरपालिकाद्वारा टिपिओ नेपाल, आवर संसार र लाइफ नेपालको सहकार्यमा वीरगंज स्थित घण्टाघर चोकबाट निकालिएको प्रभातफेरी माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुंदै पुनः घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा सहभागीहरुले “बाल संरक्षण, बालबालिकाको अधिकार, कसैले पनि नगराौ दुर्व्यवहार”, “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार”, “सुखी नेपाल, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” लगायतका नारा अंकित प्लेकार्ड सहित नगर परिक्रमा गरेका थिए ।
प्रभातफेरी पश्चात आयोजित सभामा सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई आफूहरुले प्राथमकितामा राखेर योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताउदै उहाले लक्षितवर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति अंगिकार गरिएको समेत बताउनुभयो ।
सभामा महानगरपालिकाका उपमेयर इम्तियाज आलमले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रकै भविष्य निर्धारण गर्ने हुंदा त्यसमा वीरगंज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउनु भयो ।
बालबालिका विरुद्धका हिंसा, दुर्व्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्ने दायित्व हामी सबैको कााधमा रहेको भन्दै उहाले त्यसका लागि सबैसंग वीरगंज महानगर हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनु भयो ।
उहाले स्वास्थ्य तथा शिक्षामा बालबालिकाको पहुंच बृद्धि गर्दै उनीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न माध्यमिक तहसम्मको शिक्षा प्राप्तिमा महानगरले निशुल्क व्यवस्था मिलाएको बताउनु भयो ।
कार्यक्रममा लागु पदार्थ दुर्व्यसन र बालविवाहका बारेमा सचेतना फैलाउन सडक नाटक समेत बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।
कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु, माइती नेपालकी गोमा पौडेल, सामाजिक अभियन्ता अनिषकान्त कुशवाहा, लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बाल दिवसकै अवसरमा आइतबार महानगरका मेयर र उपमेयरसंग बालबालिकाको अन्तरसम्बाद कार्यक्रम राखिएको महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रंजना पंडितले जानकारी दिइन ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइंदै आएको छ ।
बाल दिवसको अवसरमा प्रभातफेरी र सडक नाटक प्रदर्शन
Facebook Comments Box