गण्डकी, २२ भदौ (रासस)
गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र “वसन्त”को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ ।
चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गर्नुभयो ।
सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहनुभएकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहनुभएका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाउनुभएको थियो ।
शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहनुभएका अभिनेता सपूतले चलचित्र “वसन्त” आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताउनुभयो । चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उहाँको भनाइ छ ।
“चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र संगीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”
चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ । अभिनेता सपूतले चलचित्र “वसन्त” मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिनेक्री खड्काले चलचित्र छायाङ्कनका त्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाँकन पूरा गर्ने लक्ष्य लिइएको छ ।
चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने उहाँको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लाग्नुभएको हो ।
गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र “परेदशी–२” बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । “वसन्त”मा पनि उहाँ आफैँ मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ ।
“परदेशी–२”को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।
विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको संघर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताउनुभयो । कथा, संगीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उहाँको भनाइ छ ।
चलचत्रिमा “शान्ति” पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुभएको छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा र संगीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका “गलबन्दी”, “बोलमाया”, “पिर”, “सकम्बरी”, “दमाइ महाराज”, “बदला बरिलै”, “कुरा बुझ्नुपर्छ”लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारंगत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ ।
विसं २०६९ मा “मुसुमुस नहाँस मायाले” बोलको लोकदोहोरी गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ ।
चलचित्रको शुभमूर्हत समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए ।
Facebook Comments Box