सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ भदौ ।
खानेपानी मन्त्री प्रदिप यादवले समाजवादको मार्गदर्शनमा, जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्नु भएको छ ।
पर्सागढी नगरपालिकामा आयोजित जसपाको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
उहाले पर्सागढीको विकास र समृद्धिका लागि हामीले ठोस योजनाहरू बनाएर तिनको कार्यान्वयनमा दृढतापूर्वक लाग्न आवश्यक रहेको बताउनु भयो ।
जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले स्थानीय जनताका समस्याहरूलाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौं भन्दै पर्सागढीको विकाससंगै, हामी जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष योजना लिएर आउने बताउनु भयो ।
बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीले संगठनात्मक संरचना सुदृढ गर्दै जनताको समस्याको निराकरणमा ध्यान दिनु अहिलेको प्राथमिकता रहेको बताउनुभयो ।
जसपाको केन्द्रीय सदस्य समेत रहनुभएका मेयर सिंहले, पर्सागढी नगरपालिकालाई समृद्धि र विकासको नमुना बनाउने जसपाको योजनामा सबैको सहयोग अपरिहार्य छ भन्दै जनताको अधिकार संरक्षण र समाजवादी सिद्धान्तमा आधारित योजनाहरूलाई सफल बनाउन जनतासंगको संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले जसपा पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगंज महानगरपालिका वडा नं. २१ को कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागिता जनाउदै स्थानीय जनप्रतिनिधि, कार्यकर्ता, र आम जनतासंग विकासको एजेन्डामा संवाद गर्नुभएको छ ।
बैठकमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, पर्सागढी नगरपालिकाका मेयर पदका प्रत्याशी सुरज मानन्धर र विभिन्न वडाका अध्यक्ष, पूर्व अध्यक्ष तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
समाजवादको मार्गदर्शनमा जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ–मन्त्री यादव
Facebook Comments Box